धवलशम्शेरले दर्ता गरे ‘जय नेपाल पार्टी’, दुर्गा प्रसाईंलाई सहकार्यको निम्तो
‘हामी दुर्गा प्रसाईंको प्रतीक्षामै छौँ। उहाँ आउनुहुन्छ भने स्वागत नै छ। अहिले जय नेपाल पार्टी दर्ता भएको छ। दुर्गा प्रसाईंजी हुनुहुन्न । उहाँले हामी पछि मिल्छौँ भन्नुभएको छ,’ राणाले भने।
काठमाडौं, साउन २९ : डा.धवलशम्शेर राणाले नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन्। शुक्रबार राणाले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए।
दल दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले दुर्गा प्रसाईंलाई पार्टीमा सहभागी हुन स्वागत गर्ने बताए। उनले प्रसाईं र आफूहरूबीच पछि सहकार्य हुने जानकारी दिए।
‘हामी दुर्गा प्रसाईंको प्रतीक्षामै छौँ। उहाँ आउनुहुन्छ भने स्वागत नै छ। अहिले जय नेपाल पार्टी दर्ता भएको छ। दुर्गा प्रसाईंजी हुनुहुन्न । उहाँले हामी पछि मिल्छौँ भन्नुभएको छ,’ राणाले भने।
राणाका अनुसार जय नेपाल पार्टीले चुनाव चिह्नका रूपमा ‘त्रिभुज’ पाएको छ। त्रिभुजलाई हिमाल, पहाड र तराई तथा सनातन धर्म, राजसंस्था र प्रजातन्त्रका रूपमा व्याख्या गरिएको उनले बताए। पार्टीको झण्डा सेतो रंगको हुने र त्यसमा रातो त्रिभुज रहने उनले जानकारी दिए।
राणाले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टी दर्ता गरिएको बताए। उनका अनुसार जय नेपाल पार्टीले देशभरका सबै स्थानीय तहको निर्वाचनमा सहभागी हुने तयारी गरेको छ।
‘स्थानीय तहको निर्वाचनका लागि नै हामीले तयारी गर्न दल दर्ता गरेका हौँ। सम्पूर्ण स्थानीय तहको निर्वाचनमा हामी सहभागी हुन्छौँ,’ उनले भने।
उनले स्थानीय तहमा सेवा गर्न इच्छुक र इमानदारीपूर्वक काम गर्न चाहने नेपाली नागरिकलाई जय नेपाल पार्टीबाट निर्वाचनमा सहभागी हुन आवेदन दिन आह्वानसमेत गरे।











![नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1786699130.jpg)