Kathmandu Press

पर्यटन नै नेपालको समूल विकासको प्रमुख आधार हो : मन्त्री पौडेल

हवाई टिकटमा लगाइएको भ्याट, आईएटीए सम्बद्ध व्यवसायीको अधिकार तथा कमिसन र एजेन्सी डेबिट मेमो (एडीएम) का विषयमा मन्त्रालय गम्भीर रहेको उनले बताए ।
पर्यटन नै नेपालको समूल विकासको प्रमुख आधार हो : मन्त्री पौडेल

काठमाडौं, साउन २९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले नेपालको समूल विकासका लागि पर्यटन क्षेत्रलाई प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। 

शुक्रबार नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स संघ (नाटा)को ५९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न भए पनि नीतिगत र संरचनागत कमजोरीका कारण पर्यटनबाट अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको बताए। 

‘नेपालको समूल विकासको एउटा मात्रै सम्भावना कुनै क्षेत्रमा छ भने त्यो पर्यटनमा छ। पर्यटन उद्योगका लागि आवश्यक पर्ने प्राकृतिक र सांस्कृतिक सबै चिजले सम्पन्न छौं। तथापि, हाम्रा कतिपय नीतिगत र संरचनागत कमजोरीका कारणले चाहेजस्तो उपलब्धिहरू हासिल गर्न सकिरहेका छैनौं,’ उनले भने।

हवाई टिकटमा लगाइएको भ्याट, आईएटीए सम्बद्ध व्यवसायीको अधिकार तथा कमिसन र एजेन्सी डेबिट मेमो (एडीएम) का विषयमा मन्त्रालय गम्भीर रहेको उनले बताए।

‘हवाई टिकटमा लगाइएको भ्याट, आयटा सम्बद्ध व्यवसायीहरूको अधिकार सुनिश्चितता (कमिसन) र एजेन्सी डेबिट मेमो (एडीएम) का विषयमा मन्त्रालय अत्यन्तै संवेदनशील छ,’ उनले भने, ‘छोटो समयमा बजेट भाषणको संघारमा आइपुगेकाले तत्काल भ्याट हटाउन नसकिए पनि, आगामी वर्ष यसलाई तार्किक निष्कर्षमा पु¥याउने गरी म गृहकार्य गरिरहेको छु।’

पर्यटन ऐन संशोधनका क्रममा निजी क्षेत्रका सुझाव समेट्नुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले अहिलेको विधेयकमा केही महत्वपूर्ण विषय छुटेको बताए।

‘सम्पूर्ण निजी क्षेत्रका साथीहरूलाई मेरो आग्रह छ—आ–आफ्नो व्यवसायसँग सम्बन्धित कठिनाइहरू र नीतिगत समस्याहरूलाई हाम्रो पर्यटन विधेयकले सम्बोधन गरेको छ वा छैन, त्यसलाई गहिरिएर हेर्नुहोला,’ उनले भने, ‘त्यहाँ एड्भेन्चर टुरिजम र आरोग्य पर्यटन जस्ता धेरै विषयहरू छुटेका छन्।’

नेपालमा पर्यटनसम्बन्धी अध्ययन हुने एक मात्र सरकारी संस्था नाथमलाई थप प्रभावकारी बनाउँदै सातै प्रदेशमा विस्तार गर्ने विषयमा छलफल भइरहेको उनले बताए। मन्त्री पौडेलले आरोग्य पर्यटनलाई प्राथमिकता दिँदै यसै वर्षदेखि स्नातक र स्नातकोत्तर तहको अध्ययन सञ्चालन गर्न निर्देशन दिइएको पनि जानकारी दिए।

नेपाल पर्यटन बोर्डको वर्तमान संरचना र कार्यशैलीबाट अपेक्षित सुधार गर्न कठिन रहेको भन्दै उनले बोर्डको लगानीलाई पूर्वाधार तथा प्रवद्र्धनमा केन्द्रित गर्ने बताए।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अवस्था दयनीय रहेको उल्लेख गर्दै मन्त्री पौडेलले निगमलाई सार्वजनिक–निजी साझेदारी मोडलमा लैजानुपर्ने धारणा राखे।

युरोपेली संघले नेपालका हवाई सेवा प्रदायकलाई हवाई सुरक्षा सूचीमा राखेको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको उनले बताए।

सुशासनलाई समृद्धिको पहिलो आधार भन्दै मन्त्री पौडेलले निजी क्षेत्रमैत्री नीति निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति: १४:४१ बजे, शुक्रबार, साउन २९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्