Kathmandu Press

प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो?

‘प्रधानमन्त्रीज्यू, संसदले प्रश्न सोध्नु घेराबन्दी होइन, प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन,’ उनले भनिन्।
प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो?

काठमाडौं, साउन २५ : नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले प्रतिपक्षसँग नडराई संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्ने बताएकी छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउचाले संसदले प्रश्न सोध्नु घेराबन्दी नभएको र प्रतिपक्षले जवाफ माग्नु असहयोग नभएको बताइन्। 

‘प्रधानमन्त्रीज्यू, संसदले प्रश्न सोध्नु घेराबन्दी होइन, प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन,’ उनले भनिन्।

सत्ता पक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफू ‘एक्लो महसुस’ गरेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो भन्दै उनले प्रश्न गरिन्।

‘प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो रु यसको अनुमान विभिन्न ढंगले गर्न सकिन्छ। तर प्रतिपक्षको तर्फबाट म आज एउटा कुरा स्पष्ट भन्न चाहन्छु—कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न । मुलुकको हितमा चाल्ने सही कदममा प्रतिपक्ष तपाईंको साथमा छ,’ उनले भनिन्।

तर विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्य–मान्यता, संविधान, संसदीय मर्यादा र संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन बस्न नसक्ने उनले स्पष्ट पारिन्।

प्रधानमन्त्री सत्ता पक्षको मात्र नभई सबै नेपालीको प्रधानमन्त्री भएको उल्लेख गर्दै उनले संसदमा उठिरहेको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिले प्रधानमन्त्रीको राजनीतिक साखमा असर परेको महसुस भए–नभएको प्रश्न गरिन्।

सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको कूटनीतिक धारणा, द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय विश्वसनीयतामा समेत प्रभाव पार्ने उनले बताइन्।

उनले प्रधानमन्त्री आफ्नै मन्त्रिपरिषदमा एक्लै भएको भन्दै मन्त्रीका सुझाव कति सुन्नुहुन्छ, भन्दै प्रश्न गरिन्। उनले प्रधानमन्त्री एक्लो नरहेको बताउँदै मुलुकको हितमा अघि बढे प्रतिपक्षले साथ दिने प्रतिबद्धता जनाइन्।

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईं अघि बढ्नुहोस्, प्रतिपक्ष तपाईंको साथमा उभिनेछ। तर संविधानभन्दा माथि कोही छैन, संसदभन्दा ठूलो राजनीतिक मञ्च छैन, राष्ट्रिय हितभन्दा ठूलो कुनै दल छैन, सचिवालयले मात्रै शासन चल्दैन,’ उनले भनिन्।

प्रकाशित मिति: १४:०३ बजे, सोमबार, साउन २५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्