बैंकको ब्याजदरको समस्या समाधान गर्न उद्योगी र बैंकर्स सहमत
काठमाडौं, फागुन २७ : बैंकको व्याजदरको समस्या समाधान गर्न उद्योगी व्यवसायी र बैंकर्सबीच सहमति भएको छ ।
सोमबार व्यवसायी र बैंकर्सबीचको स....

काठमाडौं, फागुन २७ : बैंकको व्याजदरको समस्या समाधान गर्न उद्योगी व्यवसायी र बैंकर्सबीच सहमति भएको छ ।
सोमबार व्यवसायी र बैंकर्सबीचको संयुक्त बैठकले दुबै पक्ष रहेको समिति गठन गरेर समस्याको समाधान गर्ने निष्कर्ष निकालेको छ ।
व्याजदरको विषयमा निजी क्षेत्रनै फुटको अवस्था आएको भन्दै दुवै पक्ष समिति मार्फत छलफल गरेर समाधान निकाल्न सहमत भएका हुन् । सोमबार भएको छलफलमा ब्याजदर र सेवा शुल्क कसरी घटाउने, डकुमेन्टेशनको झन्झटिलो व्यवस्था कसरी अन्त्य गर्ने, केवाइसीलाई कसरी सहज बनाउने र तरलता सहज बनाउन के गर्ने ? भन्ने विषयमा व्यवसायी र बैंकरर्सबीच छलफल भएको थियो ।
छलफलमा महासंघकी अध्यक्ष भवानी राणा, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल, व्यवसायीहरु उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ, बिजय बैद्य, गोपाल खनाल उपस्थित थिए ।
बैंकर्सका तर्फबाट बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल लगायत उपस्थित थिए ।
बजारमा तरलता बढी भयो भने स्वत ब्याजदर घट्नेमा दुबै पक्ष सहमत भएका छन् । सरकारले खर्च गर्न नसकेका कारण बजारमा तरलता अभाव भएको भन्दै तरलता बढाउने उपायबारे सरकारलाई सुझाब दिने समेत छलफलको निष्कर्ष निकालेको छ ।
व्यवसायीहरुले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसम्म पुगेर बैंकको चर्को ब्याजदर विरुद्ध लबिङ गरेका थिए । त्यसको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघले गरेको थियो । ब्याजदर घटाउनका लागि शुरुमै प्रधानमन्त्रीकहाँ गएको भन्दै अर्थमन्त्रीले व्यवसायीहरु उल्टो बाटो हिँडेको टिप्पणी गरेका थिए ।











-1754206481.jpg)