मानव बेचबिखनको बदलिँदो स्वरूप रोकथाम गर्न सामूहिक प्रयास आवश्यक : आईजीपी कार्की
उनले आकर्षक तलब र सुविधायुक्त रोजगारीको प्रलोभन देखाएर व्यक्तिलाई विदेश पुर्याउने, त्यसपछि बन्धक बनाएर डिजिटल प्लेटफर्ममार्फत अनलाइन ठगी तथा साइबर स्क्याममा संलग्न हुन बाध्य पार्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरे।
काठमाडौं, साउन १२ : प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मानव बेचबिखनको बदलिँदो र जटिल बन्दै गएको स्वरूपलाई नियन्त्रण गर्न राज्य, सुरक्षा निकाय, नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायबीच समन्वित र सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।
मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आईजीपी कार्कीले मानव बेचबिखन अब परम्परागत स्वरूपमा मात्र सीमित नरहेको बताए । उनका अनुसार विगतमा मानव बेचबिखन मुख्यतः यौन शोषण, जबरजस्ती श्रम, जबरजस्ती विवाह तथा बालबालिकाको बेचबिखनजस्ता गतिविधिमा केन्द्रित भए पनि पछिल्ला वर्षहरूमा यसको स्वरूप प्रविधिमा आधारित अपराधतर्फ विस्तार हुँदै गएको छ।
उनले आकर्षक तलब र सुविधायुक्त रोजगारीको प्रलोभन देखाएर व्यक्तिलाई विदेश पुर्याउने, त्यसपछि बन्धक बनाएर डिजिटल प्लेटफर्ममार्फत अनलाइन ठगी तथा साइबर स्क्याममा संलग्न हुन बाध्य पार्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरे।
‘पछिल्ला वर्षहरूमा आकर्षक रोजगारीको प्रलोभनमा पारी विदेश लैजाने र बन्धक बनाई डिजिटल प्लेटफर्ममार्फत जबरजस्ती अनलाइन ठगी तथा साइबर स्क्याम गर्न लगाइने घटनाहरू बढेका छन,’ उनले भने।
कार्कीले मानव बेचबिखन अहिले अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँग जोडिएको संगठित अपराधको रूपमा विकसित भएको बताए। त्यसैले यसलाई केवल परम्परागत मानव बेचबिखनको दृष्टिकोणबाट मात्र हेर्न नहुने उनको भनाइ थियो । उनले मानव बेचबिखन नियन्त्रणका लागि साइबर अपराध, आर्थिक अपराध तथा अन्तर्राष्ट्रिय संगठित अपराधसँगको अन्तरसम्बन्धलाई समेत ध्यानमा राखेर अध्ययन, अनुसन्धान र नियन्त्रणका रणनीति तयार गर्नुपर्ने आवश्यकता औँल्याए।
आईजीपी कार्कीले बदलिँदो चुनौतीसँग जुध्न कानुनी, प्राविधिक तथा अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिँदै मानव बेचबिखनविरुद्धको अभियानमा सबै सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










