Kathmandu Press

योजना आयोगलाई अनुसन्धानमा आधारित नीति निर्माण केन्द्रका रूपमा सुदृढ बनाइन्छ : उपाध्यक्ष भट्ट

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टले समितिबाट उठाइएका विषयमा आयोगले १० दिनभित्र लिखित जवाफ पेश गर्ने जानकारी दिए । समितिको निर्देशनअनुसार आवश्यक विवरण तयार गरी पेश गरिने उनले बताए।
योजना आयोगलाई अनुसन्धानमा आधारित नीति निर्माण केन्द्रका रूपमा सुदृढ बनाइन्छ : उपाध्यक्ष भट्ट

काठमाडौं, असार २९ : प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको सोमबार बसेको बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट सम्पन्न भएका मुख्य कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासहित विकास आयोजनाहरूको प्रगति सम्बन्धमा छलफल गरिएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टले समितिबाट उठाइएका विषयमा आयोगले १० दिनभित्र लिखित जवाफ पेश गर्ने जानकारी दिए । समितिको निर्देशनअनुसार आवश्यक विवरण तयार गरी पेश गरिने उनले बताए।

‘१० दिनभित्र राष्ट्रिय योजना आयोगले समितिमा उठेका कुराहरु लिखित रुपमा यो समितिमा प्रस्तुत गर्नुपर्ने निर्देशन नै आइसकेको छ । आफैंले पनि सोचेका थियौं अर्थसमितिसँग यो विषयमा छलफल गर्ने । राष्ट्रिय योजना आयोगको भूमिकाको विषयमा कतिपय कुराहरु समितिबाट पनि आएका छन्,’ उनले भने।

उपाध्यक्ष भट्टले आयोगले पनि अर्थ समितिसँग यिनै विषयमा विस्तृत छलफल गर्ने तयारी गरिरहेको उल्लेख गर्दै समितिबाट आयोगको भूमिकासम्बन्धी विभिन्न सुझाव प्राप्त भएको बताए ।

उनले राष्ट्रिय योजना आयोग हाल तीन प्रमुख क्षेत्रमा आफ्नो भूमिका निर्वाह गरिरहेको बताए । सरकारले तर्जुमा गर्ने नीतिमा अनुसन्धानमा आधारित सहयोग प्रदान गर्ने संस्थाका रूपमा आयोगलाई थप सुदृढ बनाउँदै लैजान आवश्यक रहेको उनले बताए।

यसका लागि विभिन्न मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको र सम्बन्धित क्षेत्र हेर्ने आयोगका सदस्यहरूले मन्त्रालयसँग नीतिगत विषयमा सहकार्य गरिरहेको उनले जानकारी दिए।

‘आयोग अहिले तीनवटा कुरामा भूमिका खेलिरहेको छ। जसमा स्वभाविक रुपमा सरकारको एउटा महत्वपूर्ण नीति अनुसन्धानमा सहयोगीको भूमिकामा राष्ट्रिय योजना आयोगलाई सुदृढ बनाउँदै जानुपर्नेछ । त्यसका लागि विभिन्न मन्त्रालयहरुसँग अहिले पनि समन्वय गरिनै रहेका छौं । विभिन्न मन्त्रालयहरुसँग सम्बन्धित नीतिमा हाम्रो ततक्षेत्र हेर्ने मान्यज्यूहरुले समन्वय गरिरहनु भएको छ,’ उनले भने।

डा. भट्टले आयोगले नागरिक र विज्ञहरूसँगको संवादलाई पनि प्राथमिकतामा राख्दै विभिन्न माध्यमबाट छलफलको प्रक्रिया सुरु गरिसकेको बताए। आगामी दिनमा यसलाई अझ प्रभावकारी रूपमा अघि बढाइने उल्लेख गर्दै उनले नागरिक र विज्ञहरूसँगको सहकार्यले अनुसन्धानमा आधारित गुणस्तरीय नीति निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

‘हामीले नागरिकसँग पनि संवाद गर्ने, विज्ञहरुसँग पनि संवाद गर्ने व्यवस्था केही हिसावबाट सुरु गरिसकेका छौं। अझ यसलाई महत्वका साथ अगाडि बढाउँछौं। राष्ट्रिय योजना आयोग नागरिकसँग, आयोगका विज्ञहरुसँग अगाडि बढ्ने त्यसले नीति निर्माण गर्न साथै अनुसन्धानमा आधारित बेस्ट पोलिसी बनाउनका लागि त्यो महत्वपूर्ण हुन्छ । आयोग मुलुकको दिर्घकालीन सोच तय गर्ने एउटा महत्वपूर्ण संस्था हो । यो संस्था सुदृढ हुनुपर्छ,’ उनले भने।

उनले आयोग मुलुकको दीर्घकालीन विकास सोच निर्धारण गर्ने महत्वपूर्ण संस्था भएकाले यसलाई अझ सक्षम, सुदृढ र प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति: १३:४४ बजे, सोमबार, असार २९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्