Kathmandu Press

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका प्रथम कविका रूपमा सम्मानित भानुभक्त आचार्यले संस्कृत भाषामा लेखिएको भगवान् रामको जीवनमा आधारित महाकाव्य ‘रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी नेपाली समाजलाई अमूल्य साहित्यिक उपहार दिएका थिए ।
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं, असार २९ : नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पु¥याएका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

नेपाली साहित्यका प्रथम कविका रूपमा सम्मानित भानुभक्त आचार्यले संस्कृत भाषामा लेखिएको भगवान् रामको जीवनमा आधारित महाकाव्य ‘रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी नेपाली समाजलाई अमूल्य साहित्यिक उपहार दिएका थिए । उनले नेपाली भाषामा सरल र सहज शैलीमा प्रस्तुत गर्नुभएको रामायण आज पनि नेपाली जनजीवनमा उत्तिकै लोकप्रिय छ । नेपालीका घरघरमा धार्मिक तथा सांस्कृतिक अवसरमा रामायण सस्वर लय हालेर पाठ गर्ने परम्परा अझै कायम छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनुभएका भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उनको योगदानका कारण नेपाली भाषा साहित्यिक अभिव्यक्तिको बलियो माध्यमका रूपमा स्थापित भएको मानिन्छ ।

नेपालको भौगोलिक एकीकरण पृथ्वीनारायण शाहले गरेको भए पनि भाषा, साहित्य र संस्कृतिका माध्यमबाट नेपाली समाजलाई भावनात्मक रूपमा जोड्ने काम आदिकवि भानुभक्तले गर्नुभएको साहित्यकारहरूले बताउने गरेका छन् । उनका सिर्जनाले नेपाली समाजमा एकता, संस्कार र सांस्कृतिक चेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

भानुभक्तलाई नेपाली भाषामा रामायण लेख्न प्रेरणा दिने प्रसंग पनि नेपाली साहित्यमा चर्चित छ । भनिन्छ, एक सामान्य घाँसीले ‘जन्म लिएपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भन्ने सुझाव दिएपछि उहाँले समाजका लागि अमर कृति सिर्जना गर्ने प्रेरणा प्राप्त गरेका थिए । भानुभक्तले रामायणबाहेक ‘बधूशिक्षा’, ‘प्रश्नोत्तर’ लगायतका महत्वपूर्ण कृति सिर्जना गरेकहा छन् । उनका रचनाले नेपाली समाजको भाषा, संस्कृति र जीवनशैलीलाई प्रतिबिम्बित गरेका छन् ।

नेपाली भाषा र साहित्यमा उहको योगदानको सम्मानस्वरूप हरेक वर्ष असार २९ गते भानुजयन्ती मनाउने गरिन्छ । यस अवसरमा साहित्यिक गोष्ठी, कविता वाचन, सांस्कृतिक कार्यक्रम तथा विभिन्न रचनात्मक गतिविधि आयोजना गरी आदिकवि भानुभक्त आचार्यको योगदानको स्मरण गरिन्छ ।

प्रकाशित मिति: ०९:४५ बजे, सोमबार, असार २९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्