मधेश प्रदेश सभामा निरन्तर अवरोध पछि समस्या समाधान गर्न सर्वदलीय कार्यदल गठन
कार्यदलले आफ्नो कार्यविधि आफै बनाउने सभामुखले जानकारी दिए। कार्यदलले आजकै दिनदेखि काम गर्ने जनाइएको छ भने सोमबार विहान कार्यदलको पहिलो बैठक पनि डाकिएको छ।
धनुषा, असार २८ : मधेश प्रदेश सभामा बजेट पुनर्लेखन लगायतका मागहरु राख्दै विपक्षी दलहरुले निरन्तर अवरोध गरेपछि समस्या सामाधानका लागि सर्वदलीय कार्यदल गठन गरिएको छ।
आज बसेको बैठकमा सभामुख राम अशिष यादवले सर्वदलीय कार्यदल गठन गरिएको जानकारी गराएका छन्। सात जना सांसदहरु रहेको यस कार्यदलमा जसपा सांसद उपेन्द्र महतो, सांसद हरिन्द्र नारायण महतो, सांसद प्रमोद कुमार यादव, सांसद सन्जय कुमार यादव, सांसद बिमला अन्सारी, सांसद सरिता कुमारी ठाकुर र सांसद जंगीलाल राय रहेका छन्।
कार्यदलले आफ्नो कार्यविधि आफै बनाउने सभामुखले जानकारी दिए। कार्यदलले आजकै दिनदेखि काम गर्ने जनाइएको छ भने सोमबार विहान कार्यदलको पहिलो बैठक पनि डाकिएको छ।
मधेश प्रदेश सभामा आगामि वर्षको बजेट प्रस्तुत भएदेखि विपक्षी दलहरुले बजेटमा व्यापक असन्तुष्टि जनाउँदै पुनर्लेखनको मागसहित बैठक अवरुद्ध गर्दै आएका छन्।
आज गठन भएको कार्यदलले असन्तुष्ट दलहरुसंग समन्वय गर्नुका साथै बजेटमा भनिएका त्रुटीहरुको समाधानका निम्ति सहमतीको वातावरण मिलाउने छ। प्रदेश सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।











