जसले धेरैको जीवनमा खुशी ल्याइन्
काठमाडौं, फागुन २७ : इथोयोपियाको दुःखद् खबर प्रायः नेपालसम्म आइपुग्दैन । तर, आइतबार केन्याका लागि उडेको इथोयोपियाली बिमान दुर्घटनामा पर्दा एक सय ५७ जन....

काठमाडौं, फागुन २७ : इथोयोपियाको दुःखद् खबर प्रायः नेपालसम्म आइपुग्दैन । तर, आइतबार केन्याका लागि उडेको इथोयोपियाली बिमान दुर्घटनामा पर्दा एक सय ५७ जनाको मृत्यु भएको खबरले भने सारा नेपालीलाई भावुक बनाएको छ । किनकि, त्यो दुर्घटनामा ज्यान गुमाउनेहरूमध्ये एक नेपालकै छोरी पनि छिन् ।
गोर्खाको छेपेटारकी २८ वर्षीया एकता अधिकारी कामकै सिलसिलामा इथोयोपियाबाट केन्या जान त्यो विमान चढेकी थिइन् । एकता इथोयोपियामा रहेर विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) का लागि काम गर्थिन् ।
एकताका साथी तथा सहकर्मीहरूलाई अब उनी यस दुनियाँमा नरहेको पत्याउन गाह्रो भइरहेको छ ।
डब्लूएफपी नेपालमा एकतासँगै काम गरेकी निर्शा बानालाई सोमबार बिहान फोन गर्दा उनी गहिरो शोकमा थिइन् । एकताको बारेमा कुरा गर्दागर्दै उनको गला अवरुद्ध भयो । बोल्न सकिनन् । पछि कुरा गर्ने भन्दै फोन राखिन् ।
झण्डै आधा घण्टापछि मात्रै निर्शाले आफूलाई सम्हालिन् र एकताको बारेमा कुरा गर्न तयार भइन् । उनका अनुसार, एकता सकारात्मक सोच र बलियो आत्मविश्वास भएकी सहयोगी युवती थिइन् ।
एकतालाई सधैं रमाइलो गर्नुपर्थ्यो तर उनी आफ्नो काममा एकदमै ‘अर्गनाईज्ड’ पनि थिइन् । ‘एकता छैनन् भनेर पत्याउन गाह्रो भइरहेको छ,’ उनले भनिन् ।
परिश्रमी र प्रतिभाशाली भएकीले एकताले छिट्टै प्रगति पनि गरेकी थिइन् । ०७२ सालको भूइँचालोपछि उनले डब्लूएफपी नेपालमा काम गर्न थालिन् । उनी अलि पछि सप्लाई चेन अफिसर भइन् ।
सन् २०१८ को सुरुवातमा पपुवा न्यु गिन्नीमा तीन महिना काम गरेर एकता नेपाल फर्केकी थिइन् । त्यसलगत्तै उनको प्रमोसन भयो र उनले इथियोपियामा गएर काम गर्ने मौका पाइन् ।
एकताकी पूर्व सहपाठी मेनुका रोकाका अनुसार दुई साताअघि उनी दुई दिनका लागि मात्रै नेपाल आएकी थिइन् । आमाबाबुसँगको छोटो भेट सक्ने बित्तिकै उनी इथियोपिया फर्केकी थिइन् ।
नातामा एकताकी दिदी पर्ने मेनुका भन्छिन्, ‘त्यो नै उनको परिवारसँगको अन्तिम भेट भयो – कतै लामो यात्रामा जानुअघि आमाबाबुसँग अन्तिम पटक भेटघाट गर्न आएजस्तो ।’
एकताले काठमाडौंको निलगिरी बोर्डिङ स्कुलबाट ०६३ मा एसएलसी पास गरेकी थिइन् । विज्ञान विषय लिएर ११ र १२ कक्षा काडमाडौंको सोहृखुट्टे, खुशिबुस्थित हृवाइट फिल्ड कलेजबाट पूरा गरेकी थिइन् ।
कलेजमा हुँदा एकता पढाइमा तेज अनि निडर स्वभावकी भएको उनका त्यतिबेलाका सहपाठी पत्रकार ज्योति शाह सम्झिन्छन । उनि भन्छिन्, ‘त्यतिबेला म भर्खर काठमाडौं आएकी थिएँ । मलाई मान्छेसँग बोल्न पनि डर लाग्थ्यो, तर एकताले मलाई सधैं निडर भएर अगाडि बढ्ने हौसला दिइन् ।’
प्लसटुको पढाइपछि उनी थप अध्ययनका लागि बेलायत गइन् । पढाइ पूरा गरेर घर फर्केपछि उनले नेपालका दुर्गम गाउँहरूमा खाद्य संकट झेलिरहेका मानिसलाई सहयोग गर्ने संयुक्त राष्ट्रसंघीय कार्यक्रममा काम गर्ने मौका पाइन् ।
एकतालाई चिन्नेहरू भन्छन्, 'उनका लागि डब्लूएफपी जागिर खाने संस्था मात्र थिएन, गरीब र असहाय मानिसलाई सहयोग गर्ने एउटा माध्यम पनि थियो ।' डब्लूएफपी नेपालले ट्वीट गर्दै उलाई सम्झेको छ, 'उनी एक मानवतावादी थिइन्, जसले धेरैको जीवनमा खुशी ल्याइन् ।'











-(7)-1765197040.jpg)
