गृहमन्त्री अर्याल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङल बीच शिष्टाचार भेट
गृह मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री अर्यालले नवनियुक्त राजदूतलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरे।
काठमाडौं, फागुन २६ : गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्।
गृह मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री अर्यालले नवनियुक्त राजदूतलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरे।
सो भेटमा चिनियाँ राजदूत माओमिङले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पु¥याउने महत्वपूर्ण भूमिका सफल हुने विश्वास व्यक्त गरे ।
गृहमन्त्री अर्यालले चीनले आर्थिक सामाजिक क्षेत्रमा पुर्याएको सहयोगको निरन्तरता र भविष्यमा हुने सहयोग थप बढ्ने विश्वास व्यक्त गरे । उनले टेलिकम क्षेत्र र साइबर क्राइमको क्षेत्रमा बहुपक्षीय सहयोग र सहकार्यको प्रस्ताव पनि गरे।
भेटका क्रममा चिनियाँ राजदूतचाङ माओमिङले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकार र गृह मन्त्रालयलाई धन्यवाद ज्ञापन गरे।
मन्त्रालयले निर्वाचन सुरक्षा, सीमा सुरक्षा व्यस्थापनमा गरेका कामको उच्च प्रसंशा गर्दै उनले नेपाल चीनको ऐतिहासिक सम्बन्ध अझै थप बलियो बनाउने प्रतिवद्धता जनाए। राजदूत माओमिङले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा स्वतन्त्रता प्रति चीनको निरन्तर प्रतिवद्धता रहेको दोहोर्याए।
राजदूत माओमिङले गृहमन्त्री अर्याललाई मुलुकमा शान्ति, सुरक्षा र कानुनको शासन बहाल गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरेकामा बधाइ ज्ञापन गरे।












