पर्यटन, रोजगारी र सुशासनमा रूपान्तरणको प्रतिवद्धता : गगन थापा
‘अब नेपालले न जातीय द्वन्द्व, न धार्मिक विभाजन, न मधेस–पहाडको टकराव, न शहर–गाउँको दूरी सहन सक्छ। देशलाई सम्हाल्दै अघि बढाउनुपर्छ, तर सँगसँगै विकासको गति पनि दिनुपर्छ,’ उनले भने।
कास्की, फागुन १५ : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी निर्वाचनलाई सामान्य राजनीतिक प्रतिस्पर्धा नभई देशको स्थिरता, विकास र लोकतान्त्रिक मार्गको संरक्षणसँग जोडिएको ऐतिहासिक अवसर भएको बताएका छन्।
पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनले देशलाई अतिवादबाट जोगाउने कि अस्थिरतातर्फ धकेल्ने भन्ने निर्णायक मोडमा ल्याएको बताए। उनले विगतका हिंसात्मक घटनाहरू र त्यसले दिएको घाउ सम्झाउँदै अब नेपालले कुनै पनि प्रकारको द्वन्द्व, विभाजन वा अस्थिरता सहन नसक्ने स्पष्ट पारे।
‘अब नेपालले न जातीय द्वन्द्व, न धार्मिक विभाजन, न मधेस–पहाडको टकराव, न शहर–गाउँको दूरी सहन सक्छ। देशलाई सम्हाल्दै अघि बढाउनुपर्छ, तर सँगसँगै विकासको गति पनि दिनुपर्छ,’ उनले भने।
थापाले नेपाली कांग्रेस नयाँ सोच, नयाँ शैली र परिणाममुखी दृष्टिकोणसहित अघि बढेको दाबी गरे। उनले सरकार बनेमा भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकता हुने उल्लेख गर्दै शक्तिशाली छानबिन आयोग गठन गरी उच्च राजनीतिक नेतृत्वदेखि सम्पत्ति अनुसन्धान सुरु गरिने बताए।
उनका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र रोजगारीमा पाँच वर्षभित्र गुणात्मक परिवर्तन ल्याउने योजना कांग्रेसले बनाइसकेको छ।
गण्डकी प्रदेशको उदाहरण दिँदै उनले पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने भए पनि नीति र व्यवस्थापन अभावले अपेक्षित लाभ लिन नसकिएको बताए।
‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ, पर्यटनको ठूलो सम्भावना छ। तर पर्यटक आएर मात्र हुँदैन, पर्यटनले आसपासका गाउँ, पहाड र स्थानीय अर्थतन्त्रसँग जोडिनुपर्छ। पर्यटनबाट गुणस्तरीय रोजगारी सिर्जना गर्न सक्नुपर्छ,’ उनले भने।
थापाले कांग्रेसले विगत सात वर्षदेखि पर्यटन, पूर्वाधार, स्थानीय अर्थतन्त्र र रोजगारीबीच सम्बन्ध जोड्ने अध्ययन गरेको र अब त्यसलाई कार्यान्वयन गर्ने समय आएको बताए।
उनका अनुसार पर्यटनलाई शहरकेन्द्रित नभई क्षेत्रीय विकाससँग जोडेर गाउँसम्म आर्थिक लाभ पु¥याउने योजना कांग्रेसको प्राथमिकतामा छ।
थापाले कांग्रेसले सरकार गठन भए मासिक रूपमा देश र जनतासामु कामको प्रगति सार्वजनिक गर्ने प्रणाली लागू गर्ने बताए।
‘वैशाख १ गते योजना सार्वजनिक गर्छौँ, जेठ १ गते त्यसको पहिलो परिणाम जनतालाई सुनाउँछौँ। प्रत्येक महिना हिसाब बुझाउने प्रणाली बसाल्छौँ,’ उनले भने।
थापाले मतदातालाई भावनात्मक अपिल गर्दै आगामी पाँच वर्षलाई प्रयोगको समय नभई परिणामको समय बनाउनुपर्ने बताए।उनले कांग्रेसलाई पुरानो पार्टी भए पनि आफूहरू नयाँ सोच, नयाँ नेतृत्व र नयाँ संकल्पसहित आएको दाबी गर्दै पुरानोका राम्रो मूल्य जोगाएर नयाँ ऊर्जा थप्ने नीति अपनाइएको उल्लेख गरे।
कार्यक्रममा उनले कास्कीका कांग्रेस उम्मेदवारहरूलाई समर्थन गर्न कार्यकर्तालाई घरदैलोमा सक्रिय हुन आग्रह गरे। सामाजिक सञ्जालमा मात्र बहस गरेर परिवर्तन सम्भव नहुने भन्दै उनले मतदातासम्म प्रत्यक्ष पुग्नुपर्नेमा जोड दिए।
थापाले देश सञ्चालन सबै राजनीतिक शक्तिको सहकार्यबाट मात्र सम्भव हुने बताउँदै भविष्यमा सहकार्य, संवाद र सहमतिमा आधारित राजनीति आवश्यक रहेको धारणा राखे।












