भारतको झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु
सोमबार साँझ ७ः११ बजे राँची विमानस्थलबाट बिरामी बोकेर दिल्लीका लागि उडेको बिचक्राफ्ट सी-९० विमान करिब ७ः३० बजेदेखि सम्पर्कविहीन भएको थियो । पछि चत्रा जिल्लाको कासारिया पञ्चायत क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।
नयाँ दिल्ली, फागुन १२ : भारतको झारखण्ड स्थिीत सिमरिया नजिक एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। सोमबार रेडबर्ड एयरवेजको एयर एम्बुलेन्स दुर्घटना भएको सशस्त्र सीमा बलका दोस्रो कमाण्डर रमेश कुमारले एएनआईलाई जानकारी दिएका हुन्।
सोमबार साँझ ७ः११ बजे राँची विमानस्थलबाट बिरामी बोकेर दिल्लीका लागि उडेको बिचक्राफ्ट सी-९० विमान करिब ७ः३० बजेदेखि सम्पर्कविहीन भएको थियो । पछि चत्रा जिल्लाको कासारिया पञ्चायत क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।
दुर्घटनामा क्याप्टेन विवेक विकास भगत, क्याप्टेन सवराजदीप सिंह, सञ्जय कुमार, डा विकास कुमार गुप्ता, सचिन कुमार मिश्रा, अर्चना देवी र धुरु कुमारको मृत्यु भएको पुष्टि गरिएको छ । सबै शव फेला पारेर पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।
यसैबीच, भारतीय उड्डयन परिषदले घटनाप्रति गहिरो चासो व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना व्यक्त गरेको छ। परिषद्का अध्यक्ष डा. नितिन जाधवले सोमबार एक विज्ञप्तिमा भने,‘सिमरिया नजिक २३ फेब्रुअरी २०२६ मा भएको रेडबर्ड एयरवेजको एयर एम्बुलेन्स दुर्घटनाप्रति हाम्रो गहिरो चिन्ता र हार्दिक समवेदना व्यक्त गर्दछौं।’
विमान दुर्घटनाको कारण पत्ता लगाउन एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्युरो (एएआईबी) को टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्ने बताइएको छ।