Kathmandu Press

सङ्घीयता विरोधी शक्तिबाट सचेत रहन मधेशी जनतालाई उपेन्द्र यादवको आग्रह

‘सङ्घीयता विरोधी दलहरूले प्रदेश हटाएर मधेशी, महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम लगायत पछाडि पारिएका समुदायको अधिकार खोसेर फेरि गुलाम बनाउन चाहेका छन्।’
सङ्घीयता विरोधी शक्तिबाट सचेत रहन मधेशी जनतालाई उपेन्द्र यादवको आग्रह

सप्तरी, फागुन ९ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी दलहरूले प्रदेश संरचना खारेज गरी मधेशी जनतालाई पुनः अधिकारविहीन बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।

सप्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका यादवले डाक्नेश्वरी नगरपालिका–८ पट्टीमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै सङ्घीयता विरोधी शक्तिहरूबाट सचेत रहन मधेशी जनतालाई आग्रह गरे।

Hardik ivf

मधेश जनविद्रोहबाट स्थापित सङ्घीयता खारेज गर्ने षड्यन्त्र भइरहेको दाबी गर्दै उनले भने, ‘सङ्घीयता विरोधी दलहरूले प्रदेश हटाएर मधेशी, महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम लगायत पछाडि पारिएका समुदायको अधिकार खोसेर फेरि गुलाम बनाउन चाहेका छन्।’

देशमा सङ्घीयता कांग्रेस–कम्युनिष्टको चाहना विपरीत आएको उल्लेख गर्दै उनले नेपाली कांग्रेस र कम्युनिष्ट शक्तिहरू सङ्घीयताप्रति सुरुमा सकारात्मक नभएको दाबी गरे। साथै आफूलाई नयाँ शक्ति भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी सङ्घीयता र प्रदेश खारेजीको पक्षमा रहेको आरोप लगाउँदै मधेशी मतदातालाई भ्रममा नपर्न आग्रह गरे।

हरेक राजनीतिक परिवर्तनमा सप्तरीले निर्णायक भूमिका खेले पनि विभेदकारी नीतिका कारण अपेक्षित विकास हुन नसकेको यादवको भनाइ थियो। गरिबी, बेरोजगारी, अशिक्षा, सडक पूर्वाधार, गुणस्तरीय शिक्षा तथा सुरक्षित खानेपानीको अभाव अझै कायम रहेको उनले उल्लेख गरे।

सही प्रतिनिधि चयन गर्न नसक्दा जिल्ला पछि परेको टिप्पणी गर्दै उनले विगतमा आफू निर्वाचित हुँदा विराटनगरभन्दा ठूलो सुविधासम्पन्न अस्पताल भवन, कृषि विश्वविद्यालय, इन्जिनियरिङ कलेज, नर्सिङ कलेज भवन, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, पक्की सडक तथा विद्यालय भवन निर्माणजस्ता काम अघि बढाएको दाबी गरे।

ती योजनालाई पूर्णता दिन निरन्तरता आवश्यक रहेको उल्लेख गर्दै उनले विगतका कामको मूल्याङ्कन गरी मतदान गर्न मतदातासँग आग्रह गरे। आगामी निर्वाचन संविधान संशोधनमार्फत सङ्घीयतालाई थप अधिकारसम्पन्न बनाउने र मधेशी लगायत उपेक्षित समुदायको भविष्य निर्धारण गर्ने अवसर भएकाले गम्भीर हुन उनले आग्रह गरे।

शुक्रबारै डाक्नेश्वरी नगरपालिकाका प्रवाहा, धामी टोल, भीमपुर, बिसहरिया लगायतका स्थानमा आयोजित सभाहरूमा अध्यक्ष यादवले सम्बोधन गरेको पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले जानकारी दिए।

प्रकाशित मिति: ११:५९ बजे, शनिबार, फागुन ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्