प्रतिनिधि सभा निर्वाचनमा : कर्णालीमा नौं जना पूर्वमन्त्री चुनावी मैदानमा, कसको अवस्था के?
पूर्वअर्थमन्त्री जनार्दन शर्मा, पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वपर्यटन मन्त्री खड्कबहादुर बिश्वकर्मा, पूर्वसहरी बिकास मन्त्री धनबहादुर बुढा र कर्णाली प्रदेशका पूर्व मूख्यमन्त्री तथा पूर्वऊर्जा मन्त्री महेन्द्र बहादुर शाही चुनावी मैदानमा छन्।
सुर्खेत, फागुन २ : आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनमा कर्णालीका नौ पूर्वमन्त्रीहरु चुनावी मैदानमा होमिएका छन्।
१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा कर्णाली प्रदेश सरकारका चारजना मन्त्री र पाँच जना संघीय सरकारका मन्त्रीहरु छन्।
पूर्वअर्थमन्त्री जनार्दन शर्मा, पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वपर्यटन मन्त्री खड्कबहादुर बिश्वकर्मा, पूर्वसहरी बिकास मन्त्री धनबहादुर बुढा र कर्णाली प्रदेशका पूर्व मूख्यमन्त्री तथा पूर्वऊर्जा मन्त्री महेन्द्र बहादुर शाही चुनावी मैदानमा छन्।
त्यस्तै कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री नरेश भण्डारी जुम्लाबाट, गोपाल शर्मा रुकुम पश्चिमबाट, चन्द्रबहादुर शाही मुगुबाट र अम्मरबहादुर थापा दैलेख क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन्। यी सबै पूर्वमन्त्रीहरु माओवादी र एकीकृत समाजवादी पृष्ठभूमिका हुन्।
जनार्दन शर्मा र गोपाल शर्मा: एक हार्ने सुनिश्चित
तत्कालिन नेकपा माओवादीका प्रभावशाली नेता जनार्दन शर्मा र उनकै विश्वास पात्र गोपाल शर्मा रुकुम पश्चिमबाट चुनावी प्रतिपस्र्धामा छन्। पूर्वअर्थमन्त्री जनार्दन र कर्णाली प्रदेशका पूर्वआर्थिक मामिला मन्त्री गोपाल शर्मा पूरानो माओवादी पार्टीका नेता हुन्। कुनै समय नेकपाका संयोजक प्रचण्डका विश्वास पात्र मानिएका शर्मा आगामी चुनावमा भने आफ्नै कार्यकर्ता गोपाल शर्मासंग प्रतिस्पर्धा गर्दैछन्।
माओवादीको आधारक्षेत्र मानिने रुकुम पश्चिममा जनार्दनको आफ्नै पनि प्रभाव राम्रो छ। जनार्दनको प्रभावकै कारण २० बर्षदेखि लगातार तत्कालिन माओवादीले जित्दै आएको बताइन्छ।
प्रचण्डको विश्वासकै कारण कर्णालीमै उनको प्रभाव रहन्थ्यो। त्यसैले त कर्णाली सरकारको मुख्यमन्त्री जो भए पनि उनकै इशारामा चल्ने समय थियो कुनै बेला। यतिसम्म कि महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुँदा उनले कर्णाली प्रदेश सरकार सञ्चालनको उच्चस्तरीय संयन्त्र बनाएर जनार्दनलाई संयोजक बनाएका थिए।
रुकुम पश्चिममा जनार्दनको नाम लिएर जो कोही चुनावमा गएपनि जितिन्छ भन्ने प्रभाव बनाएका थिए उनले। तर, अहिले उनी आफै चुनाव कसरी जित्ने भन्ने रणनीतिमा छन्। उनले तत्कालिन पार्टी छाडेर प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट चुनावमा होमिएका छन्।
रुकुम पश्चिममा कुनै बेलाका आफ्नै कार्यकर्ता गोपाल शर्मासंग भिड्दैछन् जनार्दन। गोपाल शर्मा पनि कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन्।
जनार्दन र गोपाल शर्माको प्रतिस्पर्धाले एक शर्माले हारको तिखो अनुभव चाख्नु पर्ने छ। यहाँबाट जसले जित्दा पनि एक जना पूर्वमन्त्रीले हार भोग्नु पर्नेछ। दुवै जना पूर्वमाओवादी पृष्ठभुमीकै भएको कारण रुकुम पश्चिमको परिणाम आँकलन गर्न नसकिए पनि एमालेसंगको समीकरणले जनार्दनलाई बलियो बनाएको चर्चा चल्न थालेको छ।
रुकुमपश्चिममा जनार्दनले पार्टी परित्याग गरेसंगै एक निर्वाचन क्षेत्रको जित पनि गुमाउनुपर्ने भय नेकपा वृत्तमा चलेको छ। आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न नेकपाले आफ्नो सबै शक्ति परिचालित गरेको भएपनि जनार्दनलाई हराउन सकिँदैन भन्ने निश्कर्षमा पुगेको नेकपाका एक नेताले बताए।
शक्तिबहादुर बस्नेत
पूर्व गृहमन्त्री भई सकेका शक्ति बहादुर बस्नेत जाजरकोटबाट चुनावी मैदान छन्। नेपाली काँग्रेसका खडकबहादुर बिसीसँग बस्नेतको प्रतिष्पर्धा हुने अनुमान गरिएको छ। माओवादी शान्ति प्रक्रियामा आए यता जाजरकोटबाट लगातार चुनाव जित्दै आएका बस्नेतलाई उनको पार्टीका नेताहरुलाई मिलाउनु पर्ने चुनौती छ। चुनावमा टिकटका आकांक्षी रहेका गणेशप्रसाद सिंहले पार्टी परित्याग गरेको घोषणा गरेपछि बस्नेतलाई चुनाव जित्न सहज नभएको स्थानीयको आंकलन छ।
सँधै टिकट ल्याउन सफल भएपनि यो पटक जाजरकोटबाट चुनाव जित्न सहज नभएको स्थानीय बताउँछन्। उनलाई नेपाली काँग्रेसका खडक बिसी र नेकपा एमालेका डम्मर सिंहले चुनौती दिएका छन् । काँग्रेसका बिसी जिल्लामै बसी रहने युवा भएकोले जनताको रोजाईमा पर्ने काँग्रेसका नेताहरुको दाबी गरेका छन्। पटक-पटक चुनाव जितेर पनि जिल्लाको बिकासमा खासै केही गर्न नसकेका बस्नेतलाई आसन्न चुनाव जित्न निकै गाह्रो हुने मतदाताको अनुमान छ ।
धनबहादुर बुढा
पूर्वसहरी बिकास मन्त्री धनबहादुर बुढा डोल्पाबाट चुनाव लडेका छन्। तत्कालिन समयमा नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका बुढा पार्टी एकीकरण पछि नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार छन् । रोचक त के छ भने उनले आफ्नै सहोदर दाजु नेपाली काँग्रेसका सह महामन्त्री कर्णबहादुर बुढासंग प्रतिष्पर्धा गर्दैछन्।
यसअघि नेपालीका काँग्रेस र तत्कालिन माओवादीसंगको गठबन्धनका कारण एकीकृत समाजवादीको कोटामा पर्न सफल भएका धनबहादुरलाई उनकै दाजु कर्णबहादुर हराउने अड्कल स्थानीयको छ ।
प्रकाण्डको पुनरागमनले महेन्द्रलाई हैरानी
तत्कालिन युद्धको बेला खड्कबहादुर बिश्वकर्मा युद्धको योजनाकार थिए। त्यहीबेला महेन्द्रबहादुर शाही जनमिलिसियामा भर्ना भएर जनयुद्धमा सहभागि भए। महेन्द्रबहादुर शाही जनयुद्धको प्रभावबाट शान्ति प्रक्रियामा पुग्दासम्म छापामार हुँदै डिभिजन कमाण्डर बने भने खड्कबहादुर तत्कालिन अन्तरिम कालमा विधायक बनेर संसद छिरे।
प्रचण्डका विश्वास पात्र प्रकाण्ड ०६४को संविधान सभापछि प्रचण्डको मन्त्रीपरिषद्मा मन्त्री पनि बने। त्यही बेला माओवादी लडाकूू शिविरमा रहेका महेन्द्र २०६८ सालमा माओवादी विभाजनबाट प्रकाण्ड मोहन बैद्य नेतृत्वमा लागे पछि राजनितिमा आएका महेन्द्र यो पटक कालिकोटबाट आमने सामने भएका छन्। नेकपा माओवादीका प्रवक्ता समेत रहेका प्रकाण्डले उम्मेदवारी दर्ता गराएसंगै कालिकोटको राजनितिक माहोल फेरिने आँकलन गरिएको छ।
०७० सालको संविधान सभा निर्वाचन यता कहिले संघमा र कहिले प्रदेशमा चुनाव लडेर जित्ने अवसर पाएका महेन्द्रका लागि यति बेला चाहि जित सहज हुने छैन। माओवादीभित्रको तिब्र असन्तुष्टि, प्रकाण्डको पुनरागमन र महेन्द्रको लामो संसदीय यात्राले मतदातालाई बनाएको निराशाले कालिकोटको परिणाम काँग्रेस एमालेको पोल्टामा पर्न सक्ने अनुमान पनि गरिएको छ।
यी पूर्वमन्त्रीहरुलाई सहज छैन
कर्णाली प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार बिकास मन्त्री अमरबहादुर थापा दैलेख निर्वाचन क्षेत्र नम्बर एकबाट, पूर्वभूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही मुगुबाट र पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी जुम्लाबाट चुनावी मैदानमा होमिएका छन्।
०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस र माओवादी, समाजवादीसंगको गठबन्धनबाट दैलेख क्षेत्र नम्बर एकबाट झिनो मतान्तरले चुनाव जितेका अमर थापा आगामी निर्वाचनमा पनि उम्मेद्वार बनेका छन् । उनलाई नेपाली काँग्रेसकी बासना थापाले चुनौती दिनेछन्।
माओवादी र एकीकृत समाजवादीको कमजोर संगठन, यस घि पनि पटक-पटक चुनाव जितेर पनि जिल्लाको बिकासका लागि केही नगरेको आरोपकाबीच नेपाली काँग्रेसको यूवा उम्मेदवार बासना थापा र एमालेका रविन्द्र शर्माले चुनौति बनेका छन्।
जुम्लाका पूर्वमन्त्री नरेश भण्डारीका लागि नेपाली काँग्रेसका पूराना नेता दीपबहादुर शाही, राप्रपाका चर्चित नेता ज्ञानबहादुर शाही र रास्वपाकी विनिता कठायतको प्रतिष्पर्धाबीच जित निकाल्न सहज हुनेछैन। यसभन्दा अगाडिका परिणाम हेर्ने हो भने जुम्ली जनताले मत दोहोर्याएको देखिँदैन। मुगुका पूर्वमन्त्री चन्द्रबहादुर शाहीले नेपाली काँग्रेसका खडकराज शाहीसँग तिब्र प्रतिस्पर्धा हुनेछ।












