Kathmandu Press

प्रतिनिधि सभा निर्वाचन : कर्णालीमा १० पूर्वसहकर्मीहरु प्रतिस्पर्धामा

१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा १० जना पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले कर्णालीको चुनावी माहोल रोचक बनेको छ।
प्रतिनिधि सभा निर्वाचन : कर्णालीमा १० पूर्वसहकर्मीहरु प्रतिस्पर्धामा

सुर्खेत, फागुन १ : आसन्न प्रतिनिधी सभा निर्वाचनमा १० जना पूर्व सहकर्मीहरु चुनावी प्रतिस्पर्धामा छन्। प्रमूख ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका पूर्वसहकर्मीहरु अहिले प्रमूख प्रतिस्पर्धामा छन् 

१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा १० जना पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले कर्णालीको चुनावी माहोल रोचक बनेको छ। सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ र २ मा नेपाली काँग्रेस, दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका र कालिकोट र रुकुमपश्चिममा तत्कालिन नेकपा माओवादीका पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुने छ। नेपाली कांग्रेसकाका बिष्णुबहादुर खड्का र टेकबहादुर सिंह पूर्वसहकर्मी हुन्।

नेपाली कांग्रेस सुर्खेतका उपसभापति खड्का र पूर्वउपसभापति सिंहबीच सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा हुँदैछ। त्यस्तै सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व क्षेत्रीय सभापति नारायण कुमार कोइराला र वीरेन्द्रनगर नगर समिति सचिव रमेश सापकोटा प्रतिष्पर्धामा छन्। सिंह र सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका छन्।

Hardik ivf

सुर्खेतका दुबै निर्वाचन क्षेत्र काँग्रेसको बलियो पकड भएको मानिन्छ। विगतका निर्वाचनहरुमा एकल चुनाव लड्दा काँग्रेसले निरन्तर जित्दै आएका दुवै निर्वाचन क्षेत्रमा यो पटक उम्मेदवारहरु सबै नयाँ अनुहार छन्।

क्षेत्र नम्बर १ मा २०४८ साल यताका सबै निर्वाचनमा पुर्णबहादुर खड्का उम्मेदवार बन्दै आएका छन्। २०६४ सालको पहिलो संविधानसभा चुनावमा समानुपातिकमा रहेका खड्काले २०७४ सालमा तत्कालिन एमाले माओवादी गठबन्धनका कारण चुनाव जित्न सकेनन्। खड्का २०४८, २०५१ र २०५६ सालको आमनिर्वाचन, २०७० सालको संविधान सभा र २०७९ को आमनिर्वाचनमा निर्वाचित भएका थिएका थिए।

यो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस सुर्खेतका पूर्वउपभापति टेकबहादुर सिंह र वर्तमान उपसभापति बिष्णुबहादुर खड्का चुनाव प्रतिष्पर्धी बनेका छन्। खड्का निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काका सहोदय भाई हुन्।

सिंह २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसबाट चुनाव लडेका थिए। त्यत्तिबेला नेकपा एमाले र माओवादी गठबन्धनका कारण प्रतिनिधी सभामा खड्का र प्रदेश सभामा सिंह दुवैले चुनाव जित्न सकेनन्।

एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुँदै आएको सुर्खेत क्षेत्र नम्बर १ मा पुराना काँग्रेसीहरुको लडाइँले चुनावी परिणाम एमालेको पोल्टामा जाने अनुमान गरिए पनि कांग्रेसको बलियो पकडका कारण पार्टीको भोट प्रभाव नपर्ने कांग्रेसका नेताहरुले बताउने गरेका छन्।

तेस्रो पटक चुनाव लडेका एमालेका धुव्रकुमार शाही, नेपाली कम्युनिष्ट पार्टीका जितबहादुर राना, राप्रपाका जेनजी उमेर समूहका रविकिरण हमालसहित विभिन्न १३ दलको उम्मेद्वारीका कारण काँँग्रसलाई खासै फरक नपर्ने अनुमान काँग्रेसीहरुको छ।

सुर्खेतको क्षेत्र नम्बर २ मा पूर्वमन्त्री तथा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हृदयराम थानी २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ गरी ६ वटा निर्वाचनमा उम्मेदवार बने।

२०५६, २०६४ र २०७९ सालमा चुनाव जितेका थानीले अरु चुनावमा हार व्यहोर्नु पर्यो। यो निर्वाचन क्षेत्रमा काँग्रेसका थानी र कर्णालीका मुख्यमन्त्री समेत रहेका एमालेका केन्द्रीय सचिव यामलाल कँडेल सदाबहार प्रतिस्पर्धी थिए । अहिले थानी र कँँडेल उम्मेदवार नहुँदा सबै नयाँ अनुहारहरु चुनावी मैदानमा छन्।

काँग्रेसको पकड रहेको भनिएको यो क्षेत्रमा नेपाली काँग्रेसले पूर्व क्षेत्रीय सभापति नारायणकुमार कोइरालालाई उम्मेदवार बनाएको छ । केही समय अघि रास्वपा प्रवेश गरेका कांग्रेस वीरेन्द्रनगर नगर सचिव रमेश सापकोटाले नेपाली कांग्रेसलाई चुनौती दिएका छन् । एमालेका कुलमणी देवकोटा र नेकपाका झकबहादुर मल्ल क्षेत्र नम्बर दुईबाट उम्मेदवार बनेका छन्।

दैलेखको निर्वाचन क्षेत्र नम्बर १ मा पूर्व एमालेका नेताहरु प्रतिष्पर्धामा छन्। २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनबाट झिनो मतान्तरले चुनाव जितेका अमरबहादुर थापा र रविन्द्र शर्मा प्रतिष्पर्धामा छन्। २०७९ सालमा गठबन्धनका उम्मेदवार रहेका थापाले १८ हजार २९७ मत ल्याएर विजयी हुँदा एमालेका रविन्द्र शर्माले १७ हजार ४४५ मत ल्याएका थिए।

८ सय ५२ मतान्तरले चुनाव जितेका थापा एमाले दैलेखका पूर्व अध्यक्ष हुन्। यो निर्वाचन क्षेत्रमा कांग्रेसले बासना थापालाई उम्मेदवार बनाएको छ। कालिकोट र रुकुम पश्चिममा तत्कालिन माओवादीका पूर्वसहकर्मीहरु आमनेसामने देखिएका छन्।

कालिकोटमा खड्कबहादुर विश्वकर्मा र महेन्द्रबहादुर शाही र रुकुम पश्चिममा जनार्दन शर्मा र गोपाल शर्माबीचको प्रतिष्पर्धाले चुनावी माहोललाई राचक बनाएको छ। शसस्त्र द्धन्द्धका बेला युद्धका योजनाकार मानिएका बि.क र जनार्दनलाई उनकै कार्यकर्ताहरु महेन्द्र र गोपालले चुनौती दिएका छन्।

२०६४ सालको संविधान सभा निर्वाचन जितेका खड्कबहादुर १८ वर्षपछि फेरि चुनाव लडेर संसद छिर्ने दाउमा छन्। पहिलेका सहकर्मी बिक र शाही अहिले माओवादीबाट फुटेको विप्लव नेतृत्वको नेकपा र शाही नेकपाबाट उम्मेदवार बनेका छन्।

०६४ यता निरन्तर माओवादी पृष्ठभुमीको पार्टीले चुनाव जित्दै आएको कालिकोटमा यो पटक परिणाम फरिने अड्कल गरिएको छ। ०७० यता लगातार चौथो पटक चुनाव लडेका शाहीलाई खड्क बिकको चुनौती र पार्टीभित्रकै असन्तुष्टि भारी हुने नेकपाकै नेताहरु बताउँछन्। 

यी दुई पूर्वसहकर्मीबीचको प्रतिष्पर्धा, नेकपाभित्रैको असन्तुष्टिले हुने अन्तर्घात र लगातार अवसर लिई रहेका महेन्द्र शाहीको धमिलो छवीको फाईदा काँग्रेस र एमालेले लिन सक्ने अनुमान पनि कतिपयको छ।

शान्ति प्रक्रियापछि लगायतार रुकुमबाट चुनाव जित्दै आएका जनार्दन शर्मा आफ्नै कार्यकर्ता गोपाल शर्मासंग प्रतिष्पर्धा गरिरहेका छन्। जर्नादन शर्मा आफैं संरक्षक रहेको प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट पुराना आफ्नै कार्यकर्ता गोपाल शर्मासंग चुनावी प्रतिष्पर्धामा छन्। तत्कालिन माओवादी केन्द्रमा रहेका दुवै जना यो पटक प्रतिद्धन्दी बनेका हुन्।

जनार्दन नेकपा मओवादी केन्द्रको उपमहासचिव हुँदै प्रगतिशिल लोकतान्त्रिक पार्टी गठन गरेर चुनावमा होमिएका छन्। रुकुम पश्चिममा उनलाई नेकपा एमालेले साथ दिएको छ। गोपाल शर्मा २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्य थिए।

प्रकाशित मिति: १४:२१ बजे, शुक्रबार, फागुन १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्