प्रतिनिधिसभा निर्वाचन : संखुवासभामा नयाँ अनुहारहरू प्रतिस्पर्धातमा
एमालेका डा.अर्जुन कार्की, कांग्रेसका दीपनकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पा, नेपाली कम्युनिष्ट पार्टीका सरिता खड्काबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
संखुवासभा, माघ २३ : देशका अन्य निर्वाचन क्षेत्रमा जस्तै संखुवासभामा औपचारिक चुनावी अभियान सुरु नभएता पनि उम्मेदवारहरुले मतदाताको घर दैलोमा भेटघाट तीव्र परेका छन्।
प्रारम्भिक विवरण अनुसार आगामी फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले, कांग्रेस, नेकपा र रास्वपाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। संखुवासभामा यस पटक नयाँ अनुहार प्रतिस्पर्धामा छन्।
एमालेबाट डा.अर्जुन कार्की, कांग्रेसका दीपनकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पा, नेपाली कम्युनिष्ट पार्टीका सरिता खड्काबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
एमालेबाट उम्मेदवार बनेका डा.कार्की नेपालका अनुभवी कूटनीतिज्ञ, विकास चिन्तक तथा लोकतान्त्रिक अभियन्ता हुन् । संखुवासभामा जन्मे हुर्केका उनले तीन दशकभन्दा बढी समयदेखि गरिबी निवारण, सामाजिक न्याय, लोकतन्त्र, मानव अधिकार र दिगो विकासका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्
डा. कार्कीले नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिका तथा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका विभिन्न देशहरूमा राजदूतका रूपमा सेवा गर्दै नेपालको सार्वभौमिकता, कूटनीतिक सम्बन्ध र राष्ट्रिय हित प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएका छन्।
साथै उनले राष्ट्रिय विकास परिषद्को सदस्य रहिसकेका उनले सन् २००६ मा नेपालमा लोकतन्त्र पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय स्तरमा सक्रिय पैरवी गरेका थिए।
गरिबी, असमानता, भूमि अधिकार, कृषि सुधार, सामाजिक समावेशीकरण तथा शान्ति निर्माणका विषयमा उनले सशक्त आवाज उठाउँदै आएका छन्। संयुक्त राष्ट्रसंघ, विश्व बैंक, युरोपियन युनियन लगायतका बहुपक्षीय मञ्चहरूमा अल्पविकसित तथा विकासशील देशहरूको पक्षमा स्पष्ट र दृढ नेतृत्व प्रदान गरेका डा कार्की अब संखुवासभाका जनताको विकास र समृद्धिको चाहना संघीय संसदमा गुञ्जाउन चाहेको उनले बताए।
‘म बाँकी जीवन आफु जन्मिएको थलो र मुलुकको विकासका लागि समर्पण गर्न चाहन्छु,’ उनले भने।
दिपनकुमार श्रेष्ठ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संखुवासभाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपन कुमार श्रेष्ठ विद्यार्थी आन्दोलनबाट राजनीतिमा जोडिएका हुन्। २०५३ मा नेविसंघको जिल्ला अध्यक्ष बनेका उनी ०७३ मा कांग्रेस जिल्ला सभापति हुँदै २०८२ मा पार्टीको केन्द्रीय सदस्यसम्म बन्न पुगे।
जिल्लाका सामाजिक संघसंस्थामा निरन्तर सक्रिय रहँदै उनले स्थानीय विकास योजनामा जनस्तरमा काम गरेकाले पनि आफु जनताको छनोटमा पर्ने आशा व्यक्त गरे।
सरिता थापा खड्का
०४६ सालको प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा अनेरास्ववियु सदस्यको रुपमा सक्रिय सहभागी रहेकी सरिता थापा खड्काले २०४९ सालमा पार्टी सदस्यता लिइन्। ०५८ सालदेखि संखुवासभा जिल्लामा शिक्षण पेशासँगै नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध भई पेशागत हकहितका लागि आवाज उठाउंदै आएकी उनले।
२०६२–०६३ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएकी थिइन्। उनले महिला हक, हित र अधिकारका लागि अनेमसंघ जिल्ला समितिमा रही निरन्तर संघर्ष गर्दै आएकी छन्। २०६७ सालदेखि दुई कार्यकालसम्म नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी सम्हालेकी छन्।
०६७ मा श्रीमान डम्बर खड्काको निधनपछि शिक्षण पेशा त्यागेर राजनीतिमा पूर्ण रूपमा सहभागी भएकी उनी प्रदेश सभा सदस्यका रूपमा निर्वाचित भइन्।
साविक नेकपा एकीकृत समाजवादी प्रदेश अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य रहेकी खड्का आफ्नो अनुभव, इमानदारी र जनताको विश्वासका कारण नेपाली कम्युनिस्ट पार्टीले आफुलाई प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ महिला उम्मेदवारका रूपमा प्रस्तुत गरेको बताउँछिन्।
मिङ्मा शेर्पा
संखुवासभाका विश्वप्रसिद्ध पर्वतारोही तथा पर्यटन उद्यमी मिङ्मा शेर्पाले ८ हजार मिटरभन्दा माथिका सबै १४ शिखर आरोहण गरेर इतिहास रचेका छन्।
पर्वतारोहण बाहेक मिङ्मा शेर्पा नेपालका साहसिक पर्यटन उद्योगका अग्रणी व्यक्तित्व पनि हुन्।
उनी ‘सेभेन समिट ट्रेक्स’ लगायत विभिन्न कम्पनी स्थापना गरेका उनी प्रत्यक्ष राजनीतिमा होमिएको भने यो पहिलो पटक हो। जनताले परिवर्तन चाहेकाले आफु राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भइ प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेवार भएको उनले बताए।
सुशासन र विकास मुख्य मुद्दा
चुनावी मैदानमा रहेका यहाँका सबै उम्मेदवारले सुशासन, विकास, पर्यटन प्रवद्र्धन र कृषिमा लगानीलगायतका मुख्य मुद्दा बनाएका छन्।
कांग्रेसका श्रेष्ठले सुशासनका कारण वा भ्रष्टाचारमुक्त समाजका कारण मात्र मुलुकमा परिवर्तन हुने दाबी गर्छन्। एमालेका डा।कार्कीले नेपाल र नेपालीको सुख एवम समृद्धिका लागि प्रशस्त काम गर्न सकिने बताए।
शेर्पाले भने संखुवासभाको पर्यटन प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रतिवद्धता जनाएका छन् भने नेकपाकी सरिता खड्काले प्राकृुतिक स्रोत साधनले भरिपूर्ण संखुवासभा भएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा अझै २१ प्रतिशत जिल्लाबासी गरिविको रेखामुनी रहेको औंल्याउँदै सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणमा आफ्नो भूमिका रहने दावी गरिन्।
रोचक प्रतिस्पर्धा
एक लाख १९ हजार ६३० मतदाता रहेको संखुवासभामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र छन्। यसपटक तीन महिलासहित १६ जना चुनावी मैदानमा छन् । जसमा १५ दल र एक स्वतन्त्र उम्मेदवार छन्।
यसअघिका निर्वाचनहरु एमाले र कांग्रेसका उम्मेदवारले नै बाजी मार्दै आएपनि यस पटक फरक प्रतिस्पर्धा हुने देखिएको छ । ०७९ को निर्वाचनमा कांग्रेसका दीपक खड्का निर्वाचित भएका थिए भने नेकपा एमालेका नेता राजेन्द्रप्रसाद गौतम पराजित भएका थिए।
०७० को चुनावमा तत्कालीन क्षेत्र नम्बर २ मा खड्काले गौतमलाई हराएका थिए। तर, गौतमले त्यसको बदला २०७४ को चुनावमा लिएका थिए । तर यस पटकको प्रतिस्पर्धा भिन्न बनेको छ। गौतम र खड्का चुनावी दौडमा छैनन्।
केन्द्रविन्दुमा एमालेका उम्मेदवार डा। कार्की देखिएका छन्। अन्तर्राष्ट्रिय ख्याती कमाएको र जिल्लामा निरन्तर सामाजिक सेवा र विभिन्न विकास निर्माणका कामहरु गरेकाले उनलाई मतदाताले नजिकबाट नियालिरहेका छन्।












