‘सिंगो देशले पाएको दुःखको अगाडि मेरो पीडा केही होइन’
‘देशको पीडाको कुरा गर्छु, त्यसलाई समाधान गर्नको लागि हामी कसरी जानुपर्छ त्यसको लागि जानेछौँ । म कुनै राजनीतिक दल वा अरु नेतालाई गाली गर्ने पक्षमा छैन।’
काठमाडौं, माघ २२ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंगो देशले पाएको दुखको अगाडि आफ्नो पीडा केही पनि नभएको बताएका छन्।
बिहीबार चितवन पुगेका उनले देशले पाएको दुख आफ्नो भन्दा धेरै ठूलो भएको भन्दै आजबाट देशको पीडा र त्यसलाई समाधान गर्नको लागि काम गर्ने बताए।
‘सिंगो देशले पाएको दुखको अगाडि मेरो कुनै हिसाब छैन। सिंगो देशले दुख पाएको छ। आजबाट कहिले काँही धेरै पीडा भएर कराएछु भने सुनिदिनुहोला नत्र भने आजबाट म मेरो पीडाको कुरा गर्दिन्,’ उनले भने, ‘देशको पीडाको कुरा गर्छु, त्यसलाई समाधान गर्नको लागि हामी कसरी जानुपर्छ त्यसको लागि जानेछौँ । म कुनै राजनीतिक दल वा अरु नेतालाई गाली गर्ने पक्षमा छैन।’
उनले यो मुलुकलाई समृद्धि र स्थायी शान्तिको विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने पनि बताए।
‘यो मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ, स्थायी शान्ति कसरी हुन्छ, युवाहरुलाई रोजगारी कसरी गर्न सकिन्छ, उद्योगहरु कसरी स्थापित गर्न सकिन्छ, गुणस्तरिय सेवा सबैको पहुँचमा कसरी पु¥याउन सकिन्छ भन्ने विषय हाम्रो प्राथमिकता हो,’ उनले भने।
चितवनबाट नै एउटा निलो क्रान्तिको बिउँ रोपिएको भन्दै त्यो बेला रोपेको बिरुवालाई निमोठ्न, काट्न र बाँच्न खोजिएको पनि उनको भनाई छ।












