Kathmandu Press

प्रतिनिधि सभा निर्वाचन : झापा २ मा विघठित संसदका सभामुख र उपसभामुख नै भीडन्तमा

निवर्तमान सभामुख र उपसभामुखदेखि पूर्वमन्त्री, कानुनविद्, सामाजिक अभियन्ता र वैकल्पिक धारका नेतासम्म एउटै निर्वाचन क्षेत्रमा आमनेसामने भएपछि झापा–२ को प्रतिस्पर्धा पनि रोचक बन्दै गएको छ।
प्रतिनिधि सभा निर्वाचन : झापा २ मा विघठित संसदका सभामुख र उपसभामुख नै भीडन्तमा
देवराज घिमिरे (एमाले), इन्दिरा रानामगर (रास्वपा), सरिता प्रसाईं (कांग्रेस) र धर्मशीला चापागाईं (नेकपा) । (बायाँबाट क्रमशः)

झापा, माघ २२ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशकै केन्द्रविन्दुका रुपमा लिइएको जिल्ला हो, कोशी प्रदेश अन्तरगतको झापा। दुई प्रधानमन्त्रीका उम्मेदवार एकैठाउँबाट निर्वाचन लड्दै गर्दा चर्चाको विषय बनेको हो।

झापामा नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन साहको चुनावी प्रतिस्पर्धा चर्चाको विषय बनेको हो। तर, उनिहरुको निर्वाचन लड्ने क्षेत्र हो झापा क्षेत्र नं. ५।

झापा ५ मा उनीहरुबीच तिब्र प्रतिस्पर्धा भइरहँदा जिल्लाकै क्षेत्र नम्बर २ पनि निर्वाचनको ‘हटस्पट’जस्तै छ। निवर्तमान सभामुख र उपसभामुखदेखि पूर्वमन्त्री, कानुनविद्, सामाजिक अभियन्ता र वैकल्पिक धारका नेतासम्म एउटै निर्वाचन क्षेत्रमा आमनेसामने भएपछि झापा–२ को प्रतिस्पर्धा पनि रोचक बन्दै गएको छ।

Hardik ivf

यो क्षेत्रमा १५ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। उम्मेदवारको संख्या मात्र होइन, उनीहरूको राजनीतिक हैसियत, व्यक्तित्व र विगतको प्रभावले झापा–२ लाई बहुआयामिक प्रतिस्पर्धाको केन्द्र बनाएको त्यहाँस्थित पत्रकार सुरेन्द्र भण्डारी बताउँछन्।

देवराज घिमिरेः संगठन र सत्ताको बल

एमालेबाट उम्मेदवार बनेका देवराज घिमिरे यस निर्वाचनका सबैभन्दा चर्चित पात्र हुन्। २०७९ को निर्वाचनमा २८ हजार ७१६ मत ल्याएर विजयी बनेका घिमिरे प्रतिनिधिसभाको सभामुख बनेपछि राष्ट्रिय राजनीतिमा स्थापित बने। 

एमाले अध्यक्ष ओलीको गृह जिल्ला र बलियो संगठनात्मक आधार भएको क्षेत्रमा घिमिरेको उम्मेदवारीलाई एमालेको संस्थागत शक्ति र निरन्तरताको प्रतीकका रूपमा हेरिएको छ।

घिमिरेले आफ्नो छोटो कार्यकालमा सडक विस्तार, हात्ती प्रभावित क्षेत्रमा फेन्सिङ, चार लेन सडक जस्ता पूर्वाधार योजनालाई अघि बढाएको दाबी गर्दै पुनः जनमत मागिरहेका छन्।

इन्दिरा रानामगरः विकल्पको प्रत्यक्ष परीक्षा

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी इन्दिरा राना मगर यस निर्वाचनकी अर्को केन्द्रीय पात्र हुन्। समानुपातिक प्रणालीमार्फत संसद प्रवेश गरी उपसभामुखसम्म पुगेकी रानाका लागि यो चुनाव प्रतिष्ठाको विषय पनि बनेको छ।

किनभने घिमिरे र राना एकै कार्यकालका सभामुख र उपसभामुख पनि हुन्। सामाजिक अभियानबाट राजनीतिमा आएकी रानाले आफूलाई परम्परागत दलभन्दा फरक, समावेशी र सामाजिक न्यायको आवाजका रूपमा प्रस्तुत गरिरहेकी छन्। सहरी मतदाता, महिला र परिवर्तन खोजिरहेका युवामाझ उनको चर्चा बढ्दो छ।

तर बलियो संगठनात्मक संरचना नहुनु र प्रत्यक्ष चुनावमा रास्वपाको पहिलो ठूलो परीक्षा हुनु उनको चुनौती बनेको छ।

भद्रप्रसाद नेपालः ७९मा ‘निकट हार’, अहिले पुनरागमनको अपेक्षा

अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर २६ हजार ४५५ मत ल्याउँदै दोस्रो स्थानमा रहेका भद्रप्रसाद नेपाल यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मैदानमा रहेका छन्।

०७९ मा विजयी उम्मेदवार घिमिरेसँग उनको मत अन्तर केवल २ हजार २६१ थियो। नेपालको त्यो नतिजाले झापा–२ मा वैकल्पिक राजनीतिक धार बलियो रहेको संकेत दिएको थियो।

यसपटक पार्टीको संगठन र स्पष्ट एजेन्डासहित मैदानमा उत्रिएका नेपालले अघिल्लो ‘निकट हार’लाई जितमा बदल्न सक्ने हुन् कि होइनन् भन्ने चासो व्यापक छ । तर, रास्वपाको उदयपछि वैकल्पिक मत विभाजन हुने जोखिम उनिमाथि पनि थपिएको छ।

अस्तित्व जोगाउने प्रयासमा कांग्रेस

नेपाली कांग्रेसकी उम्मेदवार सरिता प्रसाईं र नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार तथा पूर्वमन्त्री धर्मशीला चापागाईं पनि यो निर्वाचनमा प्रतिस्पर्धामा छन् । तुलनात्मक रुपमा कमजोर क्षेत्र रहेको कांग्रेसका लागि प्रसाई अनुभवी नेताका रुपमा चिनिन्छिन्।

अघिल्लो निर्वाचनमा तत्कालिन माओवादीसहितको गठबन्धनका क्रममा यो क्षेत्र कांग्रेसले माओवादीलाई नै छाडेको थियो। जसमा उम्मेदवार बनेका हरिकुमार रानामगरले १३ हजार ९३० मत प्राप्त गरेका थिए।

अघिल्लो निर्वाचनमा रहेको गठबन्धन भंग भएसँगै कांग्रेस र माओवादी धारका मत विभाजन हुने अवस्था देखिन्छ। तर, प्रसाईं सुधारिएको कांग्रेसको संकल्पका साथ मत मागिरहेकी छिन्।

विखण्डित मत र निर्णायक युवा

बिर्तामोड, अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिकाका दुई वडा र बुद्धशान्ति गाउँपालिकाका चार वडा समेटिएको झापा–२ मा कुल १ लाख ४७ हजार ५२२ मतदाता छन्।

युवा मतदाता विकास, रोजगारी र वैकल्पिक राजनीतिक नेतृत्वप्रति आकर्षित देखिन्छन्। यही समूहले चुनावी परिणामलाई निर्णायक मोड दिन सक्ने आँकलन छ । बहुदलीय प्रतिस्पर्धाका कारण मत विखण्डन हुने सम्भावना बलियो छ, जसले अप्रत्याशित नतिजाको ढोका खुला राखेको छ।

अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फ भने नेकपा एमाले पहिलो दल छ। एमालेले समानुपातिकमा २६ हजार ४९० मत पाउँदा रास्वपाले २२ हजार ५१७ मत पाएको थियो । तेश्रो स्थानमा रहेको कांग्रेसले १५ हजार ४ सय ९८ मत पाएको थियो।

यहाँ राप्रपाको ७ हजार ८८० मत हुँदा तत्कालिन माओवादी र एकीकृत समाजवादीको गरेर ५ हजार २८ मत रहेको थियो।

प्रकाशित मिति: १७:४० बजे, बिहीबार, माघ २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्