निर्वाचनमा ३२ अर्ब खर्च हुने सरकारको अनुमान
‘चुनाव सर्दैन, किन सार्नु र?’ उनले भनिन्, ‘३१, ३२ अर्ब खर्च हुन्छ, यो बेलामा। विभिन्न देशबाट सहयोग पनि भइरहेको छ।’
काठमाडौं, माघ २१ : फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा करिब ३२ अर्ब खर्च हुने अनुमान सरकारले गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने उल्लेख गर्दै सरकार जसरी पनि निर्वाचन गराउन लागि परेको र त्यसका लागि करिब ३२ अर्ब खर्च हुने अनुमान गरिएको बताइन्।
‘चुनाव सर्दैन, किन सार्नु र?’ उनले भनिन्, ‘३१, ३२ अर्ब खर्च हुन्छ, यो बेलामा। विभिन्न देशबाट सहयोग पनि भइरहेको छ।’
उनले कतै केही कारणले निर्वाचन रोकिए दोस्रो चरणमा भए पनि निर्वाचन सम्पन्न गराउने बताइन्। उनले हिमाली जिल्लाहरूमा चिसोका कारण केही जटिलता आए सवारीसाधन प्रयोग हुन सक्ने स्थानमा मानिस ओसारेर भए पनि निर्वाचन गराइन्।
‘सरकारले जसरी पनि निर्वाचन गराउँछ। कहीँ रोकियो भने दोस्रो चरणमा गराउँछ । थोरै ठाउँ भएकामा त साधनको प्रयोग पनि हुन सक्छ । साधनको प्रयाग गरेर पनि मान्छेलाई ओसारेर पनि गरौँला। त्यहाँ हुनै नसक्ने अवस्था हो भने त्यही रूपबाट विचार गर्नुपर्छ,’ उनले भनिन्।
प्रधानमन्त्री कार्कीले निर्वाचन जसरी पनि हुने र नयाँ प्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताइन्।
‘फागुन २१मा निर्वाचन जसरी पनि हुन्छ, यो इमरजेन्सीजस्तो हो । जसरी पनि निर्वाचन गराउनुपर्छ। निर्वाचन गराउँदा जनताले मत दिने हो नयाँ प्रतिनिधि आउने हो । उनीहरुले देश चलाउने हो,’ उनले भनिन्।












