Kathmandu Press

प्रतिनिधि सभा निर्वाचनः तनहुँ–२ मा पुराना दललाई नयाँको चुनौती

मुख्यगरी कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 
प्रतिनिधि सभा निर्वाचनः तनहुँ–२ मा पुराना दललाई नयाँको चुनौती

तनहुँ, माघ २० : तनहुँमा दुईवटा निर्वाचन क्षेत्र छन्। साबिक तनहुँ क्षेत्र नम्बर ३ वामपन्थी दलहरुले जित्दै आएको क्षेत्र हो। तनहुँमा हाल दुई निर्वाचन क्षेत्र छन्। 

यस निर्वाचन क्षेत्रमा म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र व्यास नगरपालिकाको वडा नम्बर ५ र ६ पर्दछ। तनहुँ क्षेत्र नम्बर २ मा एक लाख २७ हजार ५१५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले जानकारी दिए। यो निर्वाचन क्षेत्रमा १५६ मतदान केन्द्र छन्।

Hardik ivf

विसं २०४८ यताको संसदीय निर्वाचनमा पाँचपटक नेकप एमाले र दुईपटक नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन्। विसं २०४८ मा एमालेका किरण गुरुङ, २०५१ सालमा नेपाली कांग्रेसका अमरराज कैनी, २०५६ सालमा एमालेकै टुकराज सिग्देल, २०६४ सालमा एमालेकै किरण गुरुङ, २०७० सालमा पुनः एमालेका टुकराज सिग्देल, २०७४ सालमा एमालेकै केदार सिग्देल र २०७९ सालमा नेपाली कांग्रेसका शंकर भण्डारी निर्वाचित भएका थिए।

यो क्षेत्रमा पुराना दलका लागि नयाँ दलले समेत चुनौती दिएका छन्। यो क्षेत्रमा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। 

निर्वाचन कार्यालयका अनुसार कांग्रेसबाट शंकर भण्डारी, एमालेबाट केदार सिग्देल, नेपाली कम्युनिष्ट पार्टीबाट सोमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रीराम न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीबाट लालबहादुर गोतामे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट  यमबहादुर ठकुरी, नेपाल जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल अर्गनाइजेसनबाट  सुष्मा आले, नेसनल रिपब्लिक नेपालबाट नमबहादुर राना, नेपाल मजदुर किसान पार्टीबाट  लक्ष्मण अधिकारी र नेकपा (माओवादी) बाट गणेशबहादुर लामगादे प्रतिस्पर्धामा छन्। 

विसं २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारी तत्कालीन नेकपा माओवादी केन्द्रसँगको गठबन्धनबाट ३० हजार ६०४ मतसहित निर्वाचित भएका थिए। एमालेका किरण गुरुङले २५ हजार १३०, राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले पाँच हजार ३७३, राप्रपाका नरेन्द्रप्रताप महतले एक हजार ४२१ मत ल्याएका थिए। 

मुख्यगरी कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 

प्रकाशित मिति: १४:५६ बजे, मंगलबार, माघ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्