प्रतिनिधि सभा निर्वाचन : सुनसरी-२ मा त्रिपक्षीय भिडन्त, रोचक बन्दै चुनावी माहोल
कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनसरी–२ मा कुल २८ जनाको उम्मेदवारी परेको छ । तर, वास्तविक प्रतिस्पर्धा भने कांग्रेस, एमाले र रास्वपाबीच केन्द्रित देखिन्छ।
सुनसरी, माघ १९ : सुनसरी क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरू आ–आफ्नो रणनीतिसहित मैदानमा उत्रिएका छन्। घरदैलो अभियान, संगठन परिचालन र मतदाता भेटघाटले क्षेत्रको राजनीतिक तापक्रम बढिरहेको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उम्मेदवार राजीव कोइराला यतिबेला घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदाताको घर–घरमा पुगिरहेका छन्।
अभियानका क्रममा कोइरालाले ‘कांग्रेस बदलिएको छ, म बदलिएको कांग्रेसको संकल्प पूरा गर्न आएको हुँ’ भन्दै आफूलाई परिवर्तनको वाहकका रूपमा प्रस्तुत गरिरहेका छन्।
कांग्रेसभित्र अनुभवी, इमान्दार र शालीनताको छवि बनाएका कोइरालाले स्थानीय तहदेखि केन्द्रसम्मको राजनीतिक अनुभव बटुलेका छन्। नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनिसकेका र कोशी प्रदेश संसदीय दलको पूर्व नेतका रुपमा समेत काम गरेका कोइरालालाई अनभव बटुलेका युवामैत्री उम्मेदवारका रुपमा हेर्ने गरिएको छ।
कोइरालासँगै चुनावी अभियानमा सक्रिय नेपाली कांग्रेस इटहरीका सचिव विक्रम घिमिरेले पार्टी यसपटक संगठित, अनुशासित र परिणाममुखी ढंगले चुनावमा होमिएको दाबी गरे।
‘हामीले निश्कलंक पात्रलाई मैदानमा लिएर आएका छौं । विषेश महाधिवेशनपछि बदलिएको कांग्रेसको देश बदल्ने शंकल्प लिएर घरदैलो गरिरहेका छौं,’ उनले भने।
एमालेको युवा कार्ड र संगठनको बल
अर्को प्रमुख दल नेकपा एमालेले सुनसरी–२ मा सुजन लामालाई उम्मेदवार बनाएको छ। युवा संघ कोशी प्रदेश अध्यक्षसमेत रहेका लामाले युवालाई केन्द्रमा राख्दै संगठन चलायमान बनाउने प्रयास गरिरहेका छन्। एमाले यस क्षेत्रमा अघिल्लो निर्वाचनमा विजयी भइसकेको दल भएकाले संगठनात्मक संरचना र विगतको मत आधार उसको मुख्य शक्ति मानिन्छ।
तर अघिल्लो निर्वाचनमा विजयी उम्मेदवार भीमप्रसाद आचार्य मैदानमा नहुनु एमालेका लागि अवसर र चुनौती दुवै बनेको विश्लेषण गरिएको छ। लामाले त्यो रिक्ततालाई युवा ऊर्जा र संगठन परिचालनमार्फत पूर्ति गर्ने रणनीति लिएका छन्।
पुरानो कम्युनिष्ट शक्ति र महिला प्रतिनिधित्व
तत्कालिन नेकपा (माओवादी केन्द्र)बाट पूर्व कृषि राज्यमन्त्री रामकुमारी चौधरी अहिले नेपाली कम्युनिस्ट पार्टी नेकपाको उम्मेदवार छिन्। उनी आफ्नो समुदायसँगै महिलाको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएकी छन्। राजनीतिक अनुभव र पहिचान हुँदाहुँदै पनि संगठनात्मक कमजोरी र विगतको मत परिणामले माओवादीका लागि यो क्षेत्र चुनौतीपूर्ण देखिन्छ ।
रास्वपाः विकल्प कि विवाद?
बैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले लालविक्रम थापालाई उम्मेदवार बनाएको छ। तर थापाको उम्मेदवारीसँगै विवाद पनि जोडिएको छ। पार्टीकै अनुशासन विपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि उनीमाथि कारबाही गरेको थियो।
थापामाथि इटहरीस्थित जनता स्कुलको करिब २ कट्ठा जग्गा भाडामा लिएर विद्यालयलाई ८५ लाखदेखि १ करोड रुपैयाँसम्म तिर्न बाँकी रहेको आरोप पनि लागेको छ। यस्ता विषयले उनको ‘वैकल्पिक’ छविमा प्रश्न उठाएको छ।
यद्यपि, २०७९ को निर्वाचनमा समेत उल्लेख्य मत ल्याएका थापा फेरि पनि विकल्प खोजिरहेका मतदाताको आकर्षण बन्न सक्ने आँकलन गरिएको छ। निर्वर्तमान सांसदसमेत रहेका रास्वपाका नेता अशोककुमार चौधरीले सुनसरीका चारै क्षेत्र रास्वपाले जित्ने दाबी गरेका छन्।
अघिल्लो निर्वाचन र वर्तमान समीकरण
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ बाट एमाले नेता भीमप्रसाद आचार्य ३२ हजार २४ मतसहित विजयी भएका थिए। कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार सिताराम महतोले २६ हजार ६८ मत ल्याएका थिए भने रास्वपाका थापाले १९ हजार ३९१ मत प्राप्त गरेका थिए।
समानुपातिकतर्फ पनि एमाले बलियो देखिएको थियो। एमालेले २५ हजार १६९ मत ल्याउँदा कांग्रेस २० हजार ६२६ मतसहित दोस्रो र रास्वपा १६ हजार १३७ मतसहित तेस्रो स्थानमा थियो । राप्रपा चौथो र तत्कालीन माओवादी पाँचौं स्थानमा सीमित थिए।
कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनसरी–२ मा कुल २८ जनाको उम्मेदवारी परेको छ । तर, वास्तविक प्रतिस्पर्धा भने कांग्रेस, एमाले र रास्वपाबीच केन्द्रित देखिन्छ।












