Kathmandu Press

इलाम २ मा चुनावी रौनक : भेषराज र सुहाङ मुख्य प्रतिस्पर्धी

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय इलाम पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्।
इलाम २ मा चुनावी रौनक : भेषराज र सुहाङ मुख्य प्रतिस्पर्धी

इलाम, माघ ६ : इलाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट भेषराज आचार्य र एमालेबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय इलाम पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्।

आचार्य ०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा पनि उम्मेदवार भएका थिए। त्यतिबेला उनी सुहाङका पीता सुबासचन्द्र नेम्वाङसँग पराजित भएका थिए।

त्यस्तै, इलाम २ बाट जनमुक्ति पार्टीबाट याम योङहाङ लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशप्रसाद दुलाल, मंगोल नेशनल अर्गनाइजेसनबाट श्यामबहादुर लिम्बू, श्रम संस्कृति पार्टीको तर्फबाट सुदीप राईलगायतले उम्मेदवारी दिएका छन्।

इलाममा विशेषगरी सुहाङ र भेषराजबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। सुहाङ पीताको विरासत जोगाउन र युवा पुस्ताको प्रतिनिधित्व गराउन मैदानमा छन् भने चार दशकदेखि सक्रिय राजनीतिमा रहेका भेषराज पहिलो पटक संसद छिर्ने कसरतमा छन्। सुहाङ एमालेका केन्द्रीय सदस्य समेत हुन्।

जिल्लाको पार्टी संगठनभित्र बलियो पकड बनाएका भेषराज संगठन निर्माणबाटै स्थापित नेताका रुपमा चिनिन्छन्। कहिल्यै विवादमा नआएका उनी लो प्रोफाइलमा बसेरै लामो समयदेखि राजनीति गरेका कारण यसअघि पनि उम्मेदवारका लागि केन्द्रीय नेताहरुले लामो समयसम्म लबिङ गरेका थिए।

केन्द्रमा डा.शेखर कोइराला निकट मानिएका आचार्यले यसपटक सजिलै टिकट पाएका हुन्।

प्रकाशित मिति: १७:१२ बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्