शेयर बजारमा चुनावी प्रभाव : नेप्सेमा ४२ अंकको वृद्धि, कारोबार रकम ११ अर्ब नाघ्यो
आइतबार बढेर बन्द भएको नेप्से परिसूचकले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिँदै मजबुत उकालो यात्रा तय गरेको हो। मंगलबार नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ विन्दुमा पुगेको छ।
काठमाडौं, माघ ६ : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। देशमा चुनावी माहोल तातिएसँगै लगानीकर्ताको मनोबल उच्च भएर त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा पनि देखिएको हो।
अघिल्लो कारोबार दिन आइतबार बढेर बन्द भएको नेप्से परिसूचकले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिँदै मजबुत उकालो यात्रा तय गरेको हो। मंगलबार नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ विन्दुमा पुगेको छ।
यससँगै सेन्सेटिभ इण्डेक्स ७.८२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले उकालो लागेको छ।
नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। मंगलबार ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ नाघेको छ। ३३९ स्टकको १ लाख १५ हजार १८१ पटकको कारोबारमा २ करोड ५१ लाख ८५ हजार कित्ता शेयर किनबेच भएको हो।
मंगलबार गोर्खाज फाइनान्सको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयर मूल्य ५६ रुपैयाँ २० पैसाले बढेर ६१८ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको हो। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढ्दा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्य करिब ८ प्रतिशतले उकालो लागेको छ।
यद्यपि, १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य भने यस दिन ४.२३ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। कम्पनीको ४० करोड ७९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, राधी विद्युत कम्पनीको ३९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच हुँदा मञ्जुश्री फाइनान्सको कारोबार रकम ३७ करोड रुपैयाँ नाघेको छ।
मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूह सर्वाधिक ३.३६ प्रतिशतले बढेको छ।
लगानी उपसमूह साढे २ प्रतिशतले उकालो लाग्दा बैंकिङ्ग, विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा तथा अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेका छन्।












