Kathmandu Press

बुद्ध एअरका मालिक दाजुभाइबीचको विवाद सर्वोच्च प्रवेश, के होला निर्णय? 

बुद्ध एअरका संचालक रहेका विरेन्द्र बस्नेत दल खोलेर सक्रिय राजनीतिमा आएपछि बुद्ध एअर प्रालिको बैंक खाताबाट रकम निकाल्ने, कम्पनीको खर्च बढाउने, कंपनीको दायित्व बढाई आफ्नो शेयर संपतिलाई थप जोखिममा पार्ने दाबी गर्दै विरेन्द्रका भाई शिवेन्द्र, उनकी श्रीमती अर्चना, छोरी शिवानी र छोरा आदर्श सर्वोच्च पुगेका हुन्। 
बुद्ध एअरका मालिक दाजुभाइबीचको विवाद सर्वोच्च प्रवेश, के होला निर्णय? 

काठमाडौं, पुस २८ : बुद्ध एअरका मालिक दाजुभाइबीचको सेयर र अंश विवाद सर्वोच्च अदालतसम्म पुगेको छ। 

पाटन उच्च अदालतमा आधा दर्जन मुद्दा विचाराधीन रहेका बेला बुद्ध एअरका संचालक विरेन्द्रबहादुर बस्नेतका भाइ शिवेन्द्रबहादुर बस्नेत परिवारले मागे वमोजिम उच्च अदालतबाट अन्तरिम आदेश नपाएपछि सर्वोच्च अदालत पुगेका हुन्। 

बुद्ध एअरका संचालक रहेका विरेन्द्र बस्नेत दल खोलेर सक्रिय राजनीतिमा आएपछि बुद्ध एअर प्रालिको बैंक खाताबाट रकम निकाल्ने, कम्पनीको खर्च बढाउने, कंपनीको दायित्व बढाई आफ्नो शेयर संपतिलाई थप जोखिममा पार्ने दाबी गर्दै विरेन्द्रका भाई शिवेन्द्र, उनकी श्रीमती अर्चना, छोरी शिवानी र छोरा आदर्श सर्वोच्च पुगेका हुन्। 

बुद्ध एअरमा नयाँ लगानी गर्ने, कंपनी विस्तार गर्ने, हवाईजहाज खरिद गर्ने, कम्पनीको नामबाट दायित्व सिर्जना गर्ने, कंपनीको पुँजी खर्च परिचालन नगर्ने, वित्तिय संस्थाबाट ऋण लिने कार्य रोक्नुपर्ने, इन्धन, मर्मत, कर्मचारीको तलव खर्च उजुरीकर्तामध्येकी शेयरधनी शिवानी बस्नेत समेतको खर्चव्यवस्थापन समिति गठन गरी मासिक खर्चको बजेट बनाएर कंपनीको रकम खर्च गर्ने व्यवस्था मिलाउन समेत उनीहरुको माग छ। 

यसअघि बुद्धएअरको शेयर र सम्पत्ति बाँडफाँडका लागि मागिएको अन्तरिम आदेश दिन उच्चअदालतका न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले अस्विकार गरेको थियो। गत मंसिर १९ गते माग वमोजिम अन्तरिम आदेश दिन अस्विकार गर्ने निर्णय त्रुटीपुर्ण र बेरितको रहेको जिकिर शिवेन्द्र बस्नेतसमेतको छ। 

कम्पनी ऐन बमोजिम उच्चको बेरितको आदेश बदर गरी उपयुक्त आदेश जारी गरिपाउन उनीहरुको माग थियो। सोमबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा मुद्दा सुनुवाईका लागि पेशी तय भए पनि सुनुवाईको पालो नआएपछि अर्को दिनका लागि धकेलिएको छ। 

सम्पत्ति विवाद हुँदै ‘थ्रेट’सम्म  

सर्वोच्चका पूर्व न्यायाधीशसमेत रहेका विराटनगरका सुरेन्द्रबहादुर बस्नेतले जीवित छँदै आफ्ना दुई छोराबीच बुद्ध एअरको सेयर भागबण्डा गरिदिएका थिए । २०७५ साल साउन १५ गतेको एक सम्झौतामा वीरेन्द्र–सुनिता ‘क’ वर्ग सेयरधनी र शिवेन्द्र–अर्चना ‘ख’ वर्ग सेयरधनी कायम गरिएको थियो। 

पछिल्लो समय उच्च अदालत पाटनले गरेको आदेशमा यिनै उजुरीकर्ताले दिएका अन्य मुद्दाहरु विचाराधीन रहेको, विपक्षीहरुको लिखित जवाफ परिसकेको, लगाउका मुद्दा दायर भएपछि विपक्षीहरुले निवेदकको हित विपरितको कार्य गरेको कंपनी ऐन, २०६३ को दफा १३९ वमोजिम प्रमाणित गर्नुपर्ने अवस्था, निवेदकले उठाएको बिषय अन्तिम सुनुवाई हुँदाका बखत संवोधन हुने प्रकृतिको देखिएको लगायत आधारमा अन्तरिम आदेश अस्विकार गरेको देखिएको छ। 

उजुरीकर्ता शिवेन्द्रसहितका निवेदकले बुद्ध एअरका संचालक वीरेन्द्र बस्नेत लगायत विपक्षीको नाममा कायम रहेको सम्पूर्ण शेयर प्रति कित्ता ३५ सय का दरले आफुहरुले खरिद गर्ने या विपक्षीले खरिद गर्न चाहेमा सोही मूल्यमा हस्तान्तरण गरिदिने लगायतका शर्तहरु पनि राखेका छन्। 

बुद्ध एअरका क र ख वर्गका शेयरधनीलाई भिन्दै गरियोस् भन्ने माग दाबी समेत छ। उजुरीको अन्तिम टुंगो नलागेसम्म ‘कंंपनीका कामकारबाही जे जस्तो अवस्थामा छ सोही अवस्थामा राख्न’ समेत निवेदन जिकिर छ । यो निवेदनमा उच्च अदालतको आदेश सदर या बदर के हुन्छ दुई पक्षीय सुनुवाईपछि मात्र छिनोफानो हुनेछ। 

यता, बुद्ध एअरका सञ्चालक बीरेन्द्र बहादुर बस्नेतले सुरक्षाको माग गर्दै उच्च अदालत विराटनगरमा मुद्दा समेत दिएका थिए । आफ्नै भाई शिवेन्द्र बस्नेतले गोली हानेर ज्यान मार्ने धम्की दिएको दाबी सहित दाजु बीरेन्द्रले २०८० साल पुस १६ गते जिल्ला प्रशासन कार्यालय, मोरङमा निवेदन दर्ता गराएका थिए। उक्त निवेदनमाथि कुनै कारबाही नभएको दाबीसहित बीरेन्द्रले २०८१ साल बैशाख १३ गते उच्च अदालत विराटनगरमा रिट दिएका हुन्। 

आफुमाथि सांघातिक आक्रमणको धम्कीका कारण जिउ ज्यानको असुरक्षा भएको प्रश्न उठाउँदै रिट दिइएको थियो । पटक पटक धम्की दिएका कारण असुरक्षा पैदा भएको कारण देखाएर न्याय माग्न संचालक बिरेन्द्र बस्नेत अदालतको शरणमा पुगेका थिए। 
 

प्रकाशित मिति: १९:३८ बजे, सोमबार, पुस २८, २०८२
NTCNTC
प्रतिक्रिया दिनुहोस्