Kathmandu Press

सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि निष्कासनमा

कम्पनीले कुल २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २० लाख कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि निष्कासनमा

काठमाडौं, पुस २२ : सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले कुल २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २० लाख कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात १५ करोड ५० लाख रुपैयाँ बराबरका १५ लाख ५० हजार कित्ता शेयर स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो ।

Hardik ivf

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म शेयरका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन छिटोमा माघ ६ गते र ढिलोमा माघ २१ गते बन्द हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा पुस २५ गते र ढिलोमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ । 

स्थानीय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा तथा हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले पाएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ । 

प्रकाशित मिति: ०८:४३ बजे, मंगलबार, पुस २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्