‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारले सबैको भूमिकाको अपेक्षा गरेको छ’
मन्त्री अर्यालले वर्तमान सरकार विधिको शासन, भ्रष्टाचार मुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्ने निर्वाचनको तयारीमा लागि सकेको दाबी पनि गरे।
काठमाडौं, पुस १७ : गृहमन्त्री ओमप्रकाश अर्यालले आगमी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारले सबैको भूमिकाको अपेक्षा गरेको बताएका छन्।
अध्यागमन विभागद्वारा काठमाडौंमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस)’ कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यथास्थानबाट सरोकारवाला सबैको यथोचित भूमिकाको अपेक्षा पनि सरकारले गरेको उल्लेख गरे।
मन्त्री अर्यालले वर्तमान सरकार विधिको शासन, भ्रष्टाचार मुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्ने निर्वाचनको तयारीमा लागि सकेको दाबी पनि गरे।
नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने उद्देश्य भएको एफएनएमआइएस प्रणाली अध्यागमन सूचना व्यवस्थापन प्रणालीमा एक कोशे ढुङ्गा साबित हुने बताए।