विशेष महाधिवेशनको तयारीमा कांग्रेसका दुई महामन्त्री
‘राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी हो। अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ,’थापाले भनेका छन्।
काठमाडौं, पुस १६ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष महाधवेशन गर्ने गरी अघि बढेका छन्।
महामन्त्री थापाले विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरिएको जानकारी समेत दिएका छन्। कांग्रेसले यसअघि आगामी पुस २६ देखि २८ गतेसम्म विशेष महाधिवेशन गर्ने गरी नियमित महाधिवेशनको समय तय गरेको थियो। उक्त समयमा नियमित महाधिवेशन नहुने भएपछि थापाले बुधबार सामाजिक सञ्जालमार्फत पुसभित्रै विशेष महाधिवेशन गर्ने गरी अघि बढेको जानकारी गराएका छन्।
‘पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ,’ महामन्त्री थापाले लेखेका छन्, ‘राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी हो। अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ।’
विशेष महाधिवेशनका लागि दृढतापूर्वक उभिन समेत महामन्त्री थापाले आह्वान गरेका छन्।
महाधिवेशनका लागि २४ सय ८८ प्रतिनिधिले हस्ताक्षर गरी गत २९ असोजमा लिखित प्रस्ताव पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरेका थिए । उक्त अवधि पुस २८ गते सकिँदैछ। यसैविच थापा समूहले केन्द्रीय समितिले आह्वान नगरेको अवस्थामा विशेष महािधवेशन कसले बोलाउने भन्ने विषयमा कानुन व्यवसायीसँग परामर्श समेत लिएका छन्।
कानुनविद्हरुले केन्द्रीय कार्यालय महामन्त्रीको मातहतमा रहने भएकाले महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाउन विधानले स्पष्ट अधिकार दिएको सुझाव महामन्त्री थापालाई दिएका छन्।
यता, पार्टी संस्थापन पक्ष भने विशेष महाधिवेशन आह्वान गर्ने पक्षमा देखिएको छैन । संस्थापनइतरका नेता डा.शेखर कोइरालाले पनि विशेष महाधिवेशनले पार्टी विभाजन हुनसक्ने बताउँदै चुनावतिर लाग्न उपयुक्त हुने धारणा राख्दै आएका छन्।
तर, महामन्त्रीद्वय थापा र शर्माले जेनजी आन्दोलनलगत्तै पुनर्गठित कांग्रेसबिना चुनावमा जान नसकिने बताउँदै आएका छन् । फागुन २१ को चुनावअघि पार्टीमा नयाँ नेतृत्व नआए चुनावै नलड्ने घोषणासमेत उनीहरुले गरिसकेका छन ।












