Kathmandu Press

सबै निर्माण व्यवसायी गलत छैनन्, राम्रालाई प्रोत्साहित गर्नुपर्छ : मन्त्री घिसिङ

‘स्थानीय तहले गर्नुपर्ने साना कल्भर्टदेखि सडकसम्मको माग संघीय सरकारलाई आउने गरेको छ,’ उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहबीचको कार्यक्षेत्र अझै स्पष्ट रूपमा बुझिनसकेको देखिन्छ।’
सबै निर्माण व्यवसायी गलत छैनन्, राम्रालाई प्रोत्साहित गर्नुपर्छ : मन्त्री घिसिङ

काठमाडौं, पुस १५ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सडक मर्मत–सम्भारमा बजेट अभाव र संघीय, प्रदेश तथा स्थानीय तहबीचको समन्वयको कमीले समस्या उत्पन्न भइरहेको बताएका छन्।

मंगलबार सडक बोर्ड नेपालको २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले राजस्वका रूपमा संकलन गरेको सम्पूर्ण रकम सडक बोर्डले नियमित कार्यक्रमका लागि प्रयोग गर्न नपाउँदा धेरै सडक मर्मत हुन नसकेको बताए।

उनका अनुसार मुख्य राजमार्ग र सहायक सडकहरूको मर्मत–सम्भार सरकारको दायित्व भए पनि स्रोत सीमितताका कारण सबै ठाउँमा अपेक्षित काम हुन सकेको छैन। संघीय संरचनाका कारण अधिकारको स्पष्ट विभाजन नहुँदा जनतामा भ्रम रहेको मन्त्री घिसिङको भनाइ छ।

Hardik ivf

‘स्थानीय तहले गर्नुपर्ने साना कल्भर्टदेखि सडकसम्मको माग संघीय सरकारलाई आउने गरेको छ,’ उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहबीचको कार्यक्षेत्र अझै स्पष्ट रूपमा बुझिनसकेको देखिन्छ।’

उनले लामो समयसम्म काम नगर्ने निर्माण व्यवसायीका ठेक्का तोड्नु सरकारको बाध्यता भएको स्पष्ट पार्दै सबै व्यवसायीलाई दोषारोपण गर्न नहुने बताए।

‘राम्रा निर्माण व्यवसायी पनि छन्, जसलाई प्रोत्साहन गरिनुपर्छ,’ उनले भने । साथै निर्माण क्षेत्रको क्षमता अभिवृद्धि बिना समग्र विकास सम्भव नहुने धारणा राखे।

सडक बोर्डमार्फत स्थानीय तहबाट आएका धेरै मर्मत र विस्तारसम्बन्धी मागहरू बजेट सीमितताका कारण पूरा गर्न कठिन भएको उल्लेख गर्दै उनले उपलब्ध स्रोतलाई प्रभावकारी र पारदर्शी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।

मन्त्री घिसिङले वर्षौंसम्म काम नगर्ने निर्माण व्यवसायीहरूको ठेक्का तोड्नु सरकारको बाध्यता भएको बताए । उनले अत्यधिक कम मूल्यमा ठेक्का लिने तर समयमै काम नगर्ने प्रवृत्तिले जनतालाई ठूलो सास्ती दिएको उल्लेख गरे।

सबै निर्माण व्यवसायी गलत नभएको स्पष्ट पार्दै उनले समयमै गुणस्तरीय काम गर्ने व्यवसायीहरूलाई निरन्तर प्रोत्साहन गरिएको पनि बताए।

‘सबै निर्माण व्यवसायी हामीले गलत भनेको होइन। धेरै राम्रा निर्माण व्यवसायीहरू पनि छन् जसले राम्रा काम पनि गरेका छन्, सही समयमा काम गरेको पनि छन्। यस्ता व्यवसायीहरूलाई हामीले निरन्तर रूपमा प्रोत्साहन पनि गरेका छौँ,’ उनले भने।

उनले विकास निर्माणमा निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै क्यापासिटी बिल्डिङ र नीतिगत सुधारमा सरकार अघि बढ्ने पनि बताए।

प्रकाशित मिति: १६:१४ बजे, मंगलबार, पुस १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्