चुनावबाट नभागी जितेर देखाउन ओलीलाई रविले दिए चुनौती
सहकारी ठगी प्रकरणमा करिब ९ महिना जेल बसेर अदालतको आदेश अनुरुप बाहिरिएका लामिछाने आइतबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा उपस्थित हुनेक्रममा यस्तो भनाई राखेका हुन्।
काठमाडौं, पुस ६ : राष्ट्रिय स्वन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एघारौँ महाधिवेशनबाट तेस्रो पटक एमालेको अध्यक्ष भएका केपी ओलीलाई चुनावबाट नभागी जितेर देखाउन चुनौती दिएका छन्।
लामिछानेले नेपाली कांग्रेसलाई समेत फागुन २१ गतेको चुनाव ‘फेस’ गरेर देखाउन चुनौती दिएका छन्। सहकारी ठगी प्रकरणमा करिब ९ महिना जेल बसेर अदालतको आदेश अनुरुप बाहिरिएका लामिछाने आइतबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा उपस्थित हुनेक्रममा यस्तो भनाई राखेका हुन्।
‘जेन–जी विद्रोहका क्रममा भागेका शक्तिहरू निर्वाचन बिथोल्न लागेका छन्। त्यसी भागेका शक्तिहरू शान्ति, सु–व्यवस्था बिगार्न लागेका छन्। आफैं घटना गराएर निर्वाचनको वातावरण बिगार्ने कोसिसमा छन्,’ उनले भने, ‘तपाईंहरूले मुन्टो निकाल्नुपर्दैन रास्वपा निर्वाचनको पक्षमा छ। चुनावमा भाग लिएर पार्टीको महाधिवेशनमा जस्तै आमचुनावमा पनि जिते भइगयो। बहादुरीसहित अगाडि बढ्नुस्। बालबालिकाको रगतमाथि खेलाँची गर्न पाइँदैन।’
लामिछानेले आफूहरू उत्साहित भए पनि उत्सव नमनाएको बताए। ‘हामीले शहीद भाइबहिनीको सपना पूरा गर्न तयार छौँ,’ लामिछानेले भने।












