देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔं : मन्त्री घिसिङ
‘स्थानीय उत्पादन र प्रविधिको प्रयोगले रोजगारीको सिर्जना गर्नेछ। बाँसको व्यावसायिक खेतीले आन्तरिक मागलाई बढावा दिनुका साथै संरचना निर्माणका लागि खर्च हुने अन्तरराष्ट्रिय मुद्रा सञ्चितिमा समेत योगदान पुग्ने देखिन्छ। त्यसैले संरचना निर्माणका लागि स्थानीय प्रविधिको प्रयोग गरौँ, आफ्नो मौलिकता संरक्षणमा जोड दिऔं,’ उनले भने।
ललितपुर, पुस ४ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताएका छन्।
‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालले आज यहाँ आयोजना गरेको ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ विमोचन कार्यक्रममा उनले स्थानीय उत्पादन उपयोगमा प्रोत्साहन गर्न आफूले योजना बनाइरहेको बताए।
‘स्थानीय उत्पादन र प्रविधिको प्रयोगले रोजगारीको सिर्जना गर्नेछ। बाँसको व्यावसायिक खेतीले आन्तरिक मागलाई बढावा दिनुका साथै संरचना निर्माणका लागि खर्च हुने अन्तरराष्ट्रिय मुद्रा सञ्चितिमा समेत योगदान पुग्ने देखिन्छ। त्यसैले संरचना निर्माणका लागि स्थानीय प्रविधिको प्रयोग गरौँ, आफ्नो मौलिकता संरक्षणमा जोड दिऔं,’ उनले भने।
सहरी विकासमन्त्री समेत रहनुभएका घिसिङले आफ्नै देशको काठ तथा काठजन्य वस्तु प्रयोग नगर्दा त्यसले अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव परेको भन्दे अब प्रधावकारी, प्रविधिमैत्री एवम् भूकम्प प्रतिरोधी संरचना निर्माणमा बाँसलगायतको प्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिए।
‘हामीले हाम्रो ठाउँको काठलाई उपयोग गर्न नसक्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ। काठ आयातमा हामीले धेरै रकम खर्च गरिरहेका छौँ, बाँसका संरचनालाई प्रयोगमा ल्याउने वातावरण बनाऔँ, यसले अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउनेछ,’ मन्त्री घिसिङले भने।