रिहा भएपछि रवि चितवन जाने
रविले भरतपुरको चौबिसकोटीमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
काठमाडौं, पुस ४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति थुनामुक्त भएपछि चितवन जाने भएका छन्। रविले भरतपुरको चौबिसकोटीमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई विहीबार विगो बापतको धरौटी रकम लिएर छाड्न आदेश दिएको थियो। धरैटी बुझाएर जेलमुक्त हुन लामिछाने शुक्रबार बिहान रुपन्देही पुगेका छन। उनले जिल्ला अदालत, रुपन्देहीमा उपस्थित भएर धरौटी रकम बुझाउने प्रक्रिया सुरु भएको छ।
धरौटी बापतको बैंक ग्यारेन्टी तयारी भइसकेकाले आजै छुट्ने बताइएको छ। रवि जेलबाट छुटेपछि चितवन जाने छन् । चितवनमा सम्बोधन गरेपछि उनी काठमाडौँ फर्किने कार्यक्रम तय भएको छ।
रविलाई रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उनले आफ्नो बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त हुन पाउनुपर्ने दाबी गर्दै उच्च अदालतमा निवेदन दिएका थिए।
उक्त निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले धरौटी रकम बुझाएर छाड्न आदेश दिएको हो। लामिछानेले आफ्नो भागमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगोको बैंक ग्यारेन्टी बुझाएपछि रिहा हुने छन ।












