‘एमालेको अभियानमा सहभागिता र संलग्नता अटूट रहिरहनेछ’
‘प्रतिस्पर्धामा यसपटक म विजयी बन्न नसके पनि मेरो अध्यक्ष पदमा भएको उमेदवारीप्रति आफ्नो विश्वासको मत प्रदान गर्नुहुने मतदाता प्रतिनिधि कमरेडहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।’
काठमाडौं, पुस ३ : नेकपा एमालेको ११औं महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी इश्वर पोखरेलले एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने प्रतिक्रिया दिएका छन्।
विहीबार अन्तिम मत परिणाम सार्वजनिक भएपछि उनले सबै मतदाताहरुलाई धन्यवाद पनि दिएका छन्।
‘आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहन्छु। नेकपा एमालेको निर्वाचित नयां नेतृत्वले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्न सकोस् । हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन्।
प्रतिस्पर्धामा यसपटक विजयी बन्न नसकेपनि विश्वासको मत प्रदान गर्ने मतदाता प्रतिनिधिहरुलाई धन्यवाद दिंदै उनले अगाडि भनेका छन्, ‘प्रतिस्पर्धामा यसपटक म विजयी बन्न नसके पनि मेरो अध्यक्ष पदमा भएको उमेदवारीप्रति आफ्नो विश्वासको मत प्रदान गर्नुहुने मतदाता प्रतिनिधि कमरेडहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।’
महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू–जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी संचालन , पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले संचालन गर्न ‘नियन्त्रण र सन्तुलन ‘को सिद्धान्तको पालन आदि महत्वपूर्ण विषयहरूले बहस र छलफलले नयाँ स्तरमा निरन्तरता पाउनेमा पोखरलले विश्वास व्यक्त गरेका छन्।
महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनेका पोखरेल केपी ओलीसँग पराजित भएका थिए। ओलीले १६६३ र पोखरेलले ५६४ मत पाएका थिए।












