Kathmandu Press

देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ

‘काम सानो ठूलो हुँदैन, सबैले श्रम गर्नुपर्छ। श्रमिकको सम्मान नगर्दा सोचे जस्तो देशमा विकास हुनसकेको छैन, श्रम संस्कृतिले मात्र राष्ट्रको समृद्धि सुनिश्चित गर्न सक्छ।’
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
फाइल तस्बिर।

सुनसरी, पुस २ : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले श्रमिकको सम्मान एवं देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्ने बताए।

श्रम संस्कृति पार्टी धरान नगर समितिले आज आयोजना गरेको सवारी चालक र मजदुर सम्मान तथा अभिनन्दन कार्यक्रममा उनले भने, ‘काम सानो ठूलो हुँदैन, सबैले श्रम गर्नुपर्छ। श्रमिकको सम्मान नगर्दा सोचे जस्तो देशमा विकास हुनसकेको छैन, श्रम संस्कृतिले मात्र राष्ट्रको समृद्धि सुनिश्चित गर्न सक्छ।’

अध्यक्ष साम्पाङले नेपाली समाजमा कामलाई सानो ठान्ने चलनलाई चुनौती दिए। ‘देशमा कामलाई सानो भनिएकै कारण विकास भएको छैन। हामीले श्रमिकलाई अपमान गर्न हुन्न र सबै श्रमिकको सम्मान सुनिश्चित गर्नुपर्छ,’ उनले भने, ‘आगामी चुनावपछि श्रमिककै प्रधानमन्त्री बन्नेछ। विकास र निकास श्रम संस्कृतिले मात्र सम्भव छ।’

‘श्रमिक भनेको केवल ढुङ्गा, गिटी वा बेल्चा बोकेर काम गर्ने मात्र होइन। शारीरिक श्रम गरेर जीविकोपार्जन गर्ने सबै मान्छे श्रमिक हुन् । हामी सबै श्रमिक हौँ र श्रमिकको सम्मानले मात्र समाज र राष्ट्र अगाडि बढ्छ,’ उनले भने।

कार्यक्रममा सवारी चालक, मजदुर, सामाजिक सङ्घसंस्था र पार्टीका प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०:२२ बजे, बुधबार, पुस २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्