पूर्वप्रधानमन्त्री केपी ओलीलाई अर्को साता बयानमा डाकिने
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पनि बोलाउनुहुन्छ भन्ने प्रश्नमा उनले बाँकी सबैलाई बोलाउने बताएका हुन्।
काठमाडौं, पुस २ : जेनजी आन्दोलनका बेला भएका घटनामा छानबिनका लागि गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतकालाई अर्को हप्ता बयानमा बोलाउने भएको छ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारमा भेटेपछि उक्त भनाई राखेका हुन्। अध्यक्ष कार्कीले अर्को हप्ता आयोगले बाँकी रहेका सबैलाई बयानमा बोलाउने तयारी गरेको बताए।
कार्कीले सञ्चारमाध्यमसँग भने, ‘हामी सबैलाई बोलाउँछौँ । अर्को हप्ता बोलाउँछौँ ।’
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पनि बोलाउनुहुन्छ भन्ने प्रश्नमा उनले बाँकी सबैलाई बोलाउने बताएका हुन्।
आयोगले काम नसकिएको भन्दै आयोगको म्याद थप एक महिना थप्न पनि प्रधानमन्त्री कार्कीसँग आग्रह पनि गरेको छ। अध्यक्ष कार्कीले सार्वजनिक विदा र प्रहरीले विवरण दिन ढिला गरेका कारण समय नपुगेको जानकारी दिँदै समय थप गर्न आग्रह गर्नुपरेको जानकारी गराए। म्याद थपका लागि प्रधानमन्त्री कार्की सकरात्मक रहेको समेत बताइएको छ।
‘हामीले एक महिना थप्नु पर्याे भन्यौँ। प्रधानमन्त्रीज्यूले प्रस्ताव पठाउनु थपिदिन्छु भन्नुभयो,’ अध्यक्ष कार्कीले भने।












