नेपाल ट्रस्टको जग्गा अनियमितता प्रकरण : पूर्वसचिव र सहसचिवसहित चारजनाविरुद्ध ठगी मुद्दा
पूर्वसचिव अर्जुनकुमार कार्की, पूर्वसहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेर्पाविरुद्ध ठगी मुद्दा दायर भएको हो।
काठमाडौं, पुस २ : नेपाल ट्रस्टको जग्गा अनियमितता प्रकरणमा बुधबार ठगी मुद्दा दर्ता भएको छ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रतवेदनका आधारमा जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौँले बुधबार मुद्दा दर्ता गरेको हो। पूर्वसचिव अर्जुनकुमार कार्की, पूर्वसहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेर्पाविरुद्ध ठगी मुद्दा दायर भएको हो।
नेपाल ट्रस्टको कार्यालयमा कार्यरत तत्कालीन सचिव र सहसचिव कार्कीद्वयले आफ्नो पद र ओहदाको गैरकानूनी लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको आरोप लगाइएको छ।
आरोपपत्र अनुसार उनीहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भए पनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको दाबी अदालत समक्ष गरिएको छ। सम्झौता नियम संगत नदेखिएको र ठगी गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को ठहर रहेको छ।
भाडा बापत १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ र निर्माण खर्च १९ करोड २९ लाख ६५ हजार ९२७ रुपैयाँ ६० पैसा गरी एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको दाबी गरिएको छ।
सूचनामा उल्लेख नै नभएको कित्ता नं. ४६०५ को ०–३–३–०.९४ को जग्गा समेत उल्लेख गरेर क्षेत्रफल समेत थपघट गरी सम्झौता गरेको समेत अनुसन्धानबाट पाइएको छ ।












