Kathmandu Press

एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छ : महेश बर्तौला

जतिसुकै एक्ल्याउने प्रयास भए पनि र जति नै आक्रमणको निशानामा पारिए पनि एमाले आफ्नो मूल मार्गबाट विचलित नहुने उनले स्पष्ट गरे। एमाले फुटोस् र त्यही आधारमा नयाँ पार्टी निर्माण गरिन्छ भन्नेहरूका सपना कहिल्यै पूरा नहुने बर्तौलाको दाबी छ।
एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छ : महेश बर्तौला

काठमाडौं, पुस २ : नेकपा एमालेका नेता महेश बर्तौलाले नेकपा एमाले मुलुकको स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा दृढताका साथ अघि बढिरहेको बताएका छन्।

बुधबार एमाले महाधिवेशन स्थल भृकुटीमण्डपबाट उनले केही प्रतिवादीहरूले एमालेजस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहना राखे पनि पार्टी देशहित, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा अविचलित रूपमा अघि बढिरहेको बताए।

‘अन्य कयौं प्रतिवादीहरुले एमाले जस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहान्छ तथापी पनि हामी देशहितको पक्षमा स्वाधिनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिकताको पक्षमा जतिसुकै एकल बनाउन खोजेपनि, जतिसुकै आक्रमणको निशानामा पारे पनि हामी अविचलित ढङगबाट अगाडी बढ्छौं,’ उनले भने।

जतिसुकै एक्ल्याउने प्रयास भए पनि र जति नै आक्रमणको निशानामा पारिए पनि एमाले आफ्नो मूल मार्गबाट विचलित नहुने उनले स्पष्ट गरे। एमाले फुटोस् र त्यही आधारमा नयाँ पार्टी निर्माण गरिन्छ भन्नेहरूका सपना कहिल्यै पूरा नहुने बर्तौलाको दाबी छ।

एमालेले आन्तरिक लोकतान्त्रिक प्रक्रिया आरम्भ गर्नेबित्तिकै प्रतिस्पर्धाको प्रक्रिया सुरु हुने र त्यसलाई पार्टी फुट्ने संकेतका रूपमा बुझ्नेहरू निराश हुने उनले बताए।

उनका अनुसार आन्तरिक प्रतिस्पर्धा एमालेको नियमित र स्वाभाविक राजनीतिक प्रक्रिया हो।

‘एमाले फुटोस्, एमालेबाट मानिस आइदियोस् त्यस आधारबाट पार्टी बनाउँछु भन्नेहरुको सपना कहिले पुरा हुँदैन । एमालेले आन्तरिक लोकत्रन्त्रको प्रक्रिया आरम्भ गर्ने बित्तिकै प्रतिस्पर्धाको प्रक्रिया आरम्भ हुने बित्तिकै अब पार्टी फुट्छ भन्नेहरु निराश हुनेछन् । एमालेको यो नियमित प्रक्रिया हो,’ उनले भने।

जनताको बहुदलीय जनवादको कार्यनीति अवलम्बन गर्दै प्रतिस्पर्धामार्फत उत्तम नेतृत्व चयन गर्ने एमालेको अभ्यास पुरानै रहेको उनले उल्लेख गरे।
 

प्रकाशित मिति: १५:१८ बजे, बुधबार, पुस २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्