एमाले महाधिवेशनमा ‘क्रस भोटिङ’ भएको अनुमान
उनीहरुले पार्टीलाई एकताबद्ध बनाउन प्यानल नहेरेर दुवै तर्फका राम्रा उम्मेदवारलाई मतदान गरेको बताएका छन्।
काठमाडौं, पुस २ : बुधबार बिहानदेखि मतदान सुरु भएको एमालेको महाधिवेशनमा ‘क्रस भोटिङ’ भएको अनुमान गरिएको छ।
भृकुटीमण्डमा अहिले नेतृत्वका लागि मतदान चलिरहेको छ। मत दिएर बाहिर निस्किएका कतिपय मतदाताले ‘क्रस भोटिङ’ गरेको बताएका छन्। उनीहरुले पार्टीलाई एकताबद्ध बनाउन प्यानल नहेरेर दुवै तर्फका राम्रा उम्मेदवारलाई मतदान गरेको बताएका छन्।
मतदान गरेर निस्किेका मतदाता र स्वतन्त्र पर्यवेक्षकले विशेषगरी महासचिवमा बढी मात्रामा क्रस भोटिङ भएको बताएका छन्। प्यानल नहेरी ‘क्रस भोटिङ’ भएका कारण मत परिणाम ‘मिक्स’ आउनेअनुमन छ।
उपाध्यक्ष र सचिवमा पनि ‘क्रस भोटिङ’ भएको दाबी गरिएको छ। अध्यक्षमा भने दुवै प्यानलबाट बाहिरबाट बोकेर ल्याएको पर्चा अनुसार मत खसालिएको छ।
यसपल्टको महाधिवेशनमा एमाले अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन्। ओली र पोखरेलले १९ पदाधिकारी र ३ सय १ केन्द्रीय सदस्यका लागि दुवै तर्फबाट प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन्।
बिहान ८ बजेबाट मतदान सुरु भएको छ। मतदान रातिसम्म चल्ने देखिएको छ। महाधिवेशनमा साढे ६ सय उम्मेदवार खडा भएका छन्। नेतृत्वका लागि कुल २ हजार २ सय ६३ मतदाताले मतदान गर्दै छन्।
मतदान सकिए लगत्तै मतगणना हुने आयोगले जनाएको छ। विद्युतीय भोटिङ मेसिनबाट मतदान भइरहेकाले गणनामा भने समय नलाग्ने आयोगको भनाइ छ।












