Kathmandu Press

सुशासन र निर्वाचन सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की

उनले संविधानसम्मत र लोकतान्त्रिक विधिमार्फत मुलुकलाई सुशासनको मार्गमा अघि बढाउने एक मात्र विकल्प निर्वाचन भएको स्पष्ट पार्दै समाजमा कुनै पनि प्रकारको अराजकताले स्थान पाउन नहुनेमा जोड दिइन्। 
सुशासन र निर्वाचन सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की

ललितपुर, पुस २ : प्रधानमन्त्री शुसीला कार्कीले ललितपुर महानगरपालिका उमेरका हिसाबले मात्र होइन, कला र सम्पदाका दृष्टिले पनि जेठो रहेको बताएकी छन्। 

ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले पाटन आफैंमा नेपाली सभ्यता र सौन्दर्यताको जीवित संग्रहालय भएको उल्लेख गरिन्।

उनले यहाँका प्रत्येक वास्तु सम्पदामा देवत्व मुस्कुराइरहेको अनुभूति हुने बताउँदै पूर्खाले छाडेर गएका सम्पदामा श्रद्धा, साधना र संस्कृतिको सजीव अभिव्यक्ति रहेको भनाइ राखिन्। यहाँका मन्दिर, विहार र ढुंगेधाराका प्रत्येक इँटा, पत्थर र धातुका कणमा विश्वास र आस्था मिसिएको उनको भनाइ थियो।

Hardik ivf

त्यसैगरी प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गते भएको जेन–जी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको उल्लेख गर्दै सरकार हाल सुशासन र निर्वाचनलाई दुई प्रमुख एजेन्डाका रुपमा अघि बढाइरहेको जानकारी गराइन्। आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारीका काम तीव्र रुपमा अघि बढेको उनले बताइन्।

निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न सरकार आतुर रहेको बताउँदै प्रधानमन्त्री कार्कीले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिन्।

‘गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको यहाँहरुलाई विदितै छ। हामी अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित छौँ। आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेका छौं,’ उनले भनिन्, ‘निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ। त्यसैले उक्त निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्दछु।’

उनले संविधानसम्मत र लोकतान्त्रिक विधिमार्फत मुलुकलाई सुशासनको मार्गमा अघि बढाउने एक मात्र विकल्प निर्वाचन भएको स्पष्ट पार्दै समाजमा कुनै पनि प्रकारको अराजकताले स्थान पाउन नहुनेमा जोड दिइन्। 

शान्ति खल्बल्याउने र कानुन हातमा लिने गतिविधि नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको उल्लेख गर्दै उनले खराब तत्त्वको प्रतिरोधका लागि समुदायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने भन्दै सबैलाई हातेमालो गर्न आग्रह गरिन्।

 ‘मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एक मात्र विकल्प भनेको निर्वाचन नै हो। म थप स्पष्ट पार्न चाहन्छु, समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनुहुँदैन,’ उनले भने, ‘शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय छ। खराब तत्त्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै हुन्छ। आउनुहोस्, यसमा हातेमालो गरौँ।’

प्रकाशित मिति: १३:०१ बजे, बुधबार, पुस २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्