ओलीको प्यानल बाहिर परेका यी प्रभावशाली नेताले मत प्रभाव पार्नसक्ने
मतदानको मुखमा आइपुग्दा पनि ओली पक्षका नेताहरूले पदाधिकारीमा दाबी नछाडेपछि भागबन्डा पुर्याउन केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष ओलीले पदाधिकारी संख्या पुरानै कायम गरे।
काठमाडौं, पुस १ : एमालेको गत भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ मा सिमिति गर्ने र तीन सय एक सदस्यीय केन्द्रीय समितिको आकार घटाएर दुई सय ५१ सदस्यीय बनाउने निर्णय गरेको थियो।
मतदानको मुखमा आइपुग्दा पनि ओली पक्षका नेताहरूले पदाधिकारीमा दाबी नछाडेपछि भागबन्डा पुर्याउन केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष ओलीले पदाधिकारी संख्या पुरानै कायम गरे।
केन्द्रीय कमिटीको आकार तीन सय एक नै कायम गरियो । पदाधिकारीको संख्या पनि १९ नै बनाइयो । गत आइतबार भएको विधान संशोधनपछि अब पदाधिकारीमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ जना सचिव रहने व्यवस्था कायम भएको छ । तर पनि ओली पक्षका आकांक्षी नेताको व्यवस्थापन भने अझै हुन सकेन।
पन्त र सुहाङ ओली प्यानलमै
ओली पक्षका अधिकाँस नेताहरु प्यामनलमा छुटे पनि उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका रघुजी पन्तलाई अन्ततः अध्यक्ष केपी शर्मा ओली समूहमै समेटिएको छ। पन्त उपाध्यक्षका आकांक्षी रहे पनि ओली समूहले बनाएको उम्मेदवार सूचीमा परेका थिएनन् पन्तलाई पोखरेल समूहले आफ्नो टिममा पार्न कुरा अघि बढाएको बताइन्छ।
पन्तले उपाध्यक्षमा ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएको समेत बताइएको थियो। मंगलबार ओली पक्षले प्यानलको सूची प्रतिनिधिहरुलाई पठाउँदा नेता प्रदीप ज्ञवालीको ठाउँमा उपाध्यक्षमा पन्तको नाम राखिएको छ।
केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सुहाङ नेम्वाङलाई पनि ओलीको प्यानलबाट खुला केन्द्रीय सदस्यमा राखिएको छ। सुहाङ स्वर्गीय नेता एवम् पूर्व सभामुख सुवास नेम्वाङका छोरा हुन्।
ओली प्यानलमा एकाध नेताहरुको व्यवस्थापन भए पनि थुप्रै आकाँक्षी प्रभावशाली नेताहरु भने अझै पदाधिकारीमा छुटेका छन्।
यी नेताहरु पदाधिकारीमा छुटे
११ औं महाधिवेशनमा महासचिवको दाबेदारका रुपमा रहेका प्रदीप ज्ञवालीले अन्तिममा केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन्। अध्यक्ष ओलीले पूर्वमहासचिव शंकर पोखरेललाई यसपालि पनि आफ्नो प्यानलमा निरन्तरता दिएपछि ज्ञवाली बाहिरिएका हुन्।
उनलाई उपाध्यक्षमा राखेर सूची तयार पारिए पनि ठाडै अस्वीकार गरेपछि नेता रघुजी पन्तले अवसर पाए। ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमार्फत् केन्द्रीय सदस्यकै लागि मत मागेका छन्।
अर्का ओली पक्षका प्रभावशाली नेता कृष्णगोपाल श्रेष्ठले यसपालि ईश्वर पोखरेल समूहबाट सचिव पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। पछिल्लो समय श्रेष्ठलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकटका रुपमा हेरिन्छ।
लामो समयदेखि काठमाडौं उपत्यकामा केन्द्रित रहेर एमाले राजनीति गरेका श्रेष्ठ उपत्यकाका लोकप्रिय नेता हुन्। प्रचार विभाग प्रमुख रहेका ओली पक्षकै नेता राजेन्द्र गौतम पनि प्यानलमा छुटे। गौतम उपमहासचिव पदका आकांक्षी थिए। तर ओलीले बनाएको टिममा उनको नाम अट्न सकेन।
गौतमले सोमबार उपमहासचिव पदमै स्वतन्त्र उम्मेदवारी दर्ता गरे पनि मंगलबार बिहान भने आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेका कारण मतपत्रमा भने उनको नाम रहने भएको छ।
ओली प्रधानमन्त्री हुँदा कानुनमन्त्री हुँदै महान्यायाधीवक्ता समेत बनेका अग्नि खरेलले पनि स्वतन्त्र रूपमा सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । झापा घर भएका उनी पनि ओलीका विश्वास पात्र मानिन्छन्।
ओलीको प्यानलमा नअटाएपछि खरेलले स्वतन्त्र रूपमा सचिवमा उम्मेदवारी दिएका छन्। अनुशासन आयोग प्रमुखमा उम्मेदवार हुने चर्चा गरिएका ओली निकट नेता काशिनाथ अधिकारीले पनि कुनै पदमा उम्मेदवारी दिएका छैनन्।
उनको पनि एमाले संगठनमा राम्रो प्रभाव रहेको बताइन्छ। उनी वितदेखि नै निरन्तर ओली निकट रहँदै आएका छन्। अनुशासन आयोगकै उपाध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत गरिएका अर्का नेता लीला गिरीले पनि केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका छन्।
ओली निकट रहेका गिरीले पनि पोलिटब्युरो सदस्य भइसकेको व्यक्तिलाई अनुशासन आयोगको उपाध्यक्षमा सीमित गर्न खोजिएको भन्दै आक्रोश समेत व्यक्त गर्दै आएका छन्।












