ओली पक्षका असन्तुष्टलाई फकाएर भोट तान्ने रणनीतिमा ईश्वर समूह
ओली पक्षका नेताकार्यकर्ताहरुले आफ्नो टीमलाई जिताउन महाधिवेशन स्थलमा आक्रामक शैलीमा प्रचारप्रसार गरिरहेका छन्। ईश्वर पोखरेल प्यानलले भित्री रुपमा सम्पर्क र भेटघाटलाई तिब्र पारेको छ।
काठमाडौं, पुस १ : नेकपा एमालेको ११ औं महाधिवेशनका लागि आज अपरान्ह मतदान हुँदैछ । मतदानका लागि प्राविधिक कारण केही ढिला हुने देखिएको छ।
एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिएका छन्। ओली पक्षबाट महासचिवमा शंकर पोखरेल र ईश्वर पोखरेल पक्षबाट महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार रहेका छन्।
अहिले मतदानस्थल भृकुटीमण्डपमा नेताकार्यकर्ताहरूले दुबै प्यानलको प्रचारप्रसार तिब्र पारेका छन्। ओली पक्षका नेताकार्यकर्ताहरुले आफ्नो टीमलाई जिताउन महाधिवेशन स्थलमा आक्रामक शैलीमा प्रचारप्रसार गरिरहेका छन्। ईश्वर पोखरेल प्यानलले भित्री रुपमा सम्पर्क र भेटघाटलाई तिब्र पारेको छ।
ओली प्यानलमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका नेताहरूसँग ईश्वर समूहले संवाद बाक्लो बनाएको छ । ईश्वर समूहले चुनाव हुनुअघि अहिले ओलीसँग असन्तुष्ट नेताहरुसँग भेटघाट गरिरहेको छ।
ओली समूह पदाधिकारी र केन्द्रीय सदस्य संख्या बढाउँदा पनि आकांक्षी व्यवस्थापन गर्न नसकेपछि कतिपय प्रभावशाली नेताहरूले असन्तुष्ट बन्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् । ओली निकट असन्तुष्टलाई फकाउने रणनीतिमा पोखरेल समूह लागिपरेको छ।
गत भदौमा सम्पन्न एमालेको विधान महाधिवेशनले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ मा झार्ने र ३०१ सदस्यीय केन्द्रीय समितिको आकार घटाएर २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो।
अन्तिममा ओली पक्षका नेताहरूले पदाधिकारीमा दाबी नछाडेपछि भागबन्डा पुर्याउन केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष ओलीले पदाधिकारी संख्या १९ र केन्द्रीय कमिटीको आकार पनि ३०१ नै कायम गरे।
आइतबार भएको संशोधनबाट अब पदाधिकारीमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ जना सचिव रहने छन्। विधान नै संशोधन गरिए पनि ओली पक्षका आकांक्षीको व्यवस्थापन भने सल्टिएको छैन।












