पुस १ गते नेपाली कांग्रेसका केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गरिने
पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा २९ मंसिरदेखि २ पुससम्म (तीन दिन) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाइने भएको छ।
काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनको शोकमा पुस १ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने भएको छ। कांग्रेसले एक दिन कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।
कांग्रेस उपसभापति धनराज गुरूङको सभापतित्वमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उपाध्यायको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाए अनुसार आज २९ मंसिरदेखि २ पुससम्म (तीन दिन) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाइने भएको छ।
उपाध्यायको स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा गृहजिल्ला मोरङमा शोक सभाको आयोजना गरिने छ। उपाध्यायको शनिबार ९१ वर्षको उमेरमा काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको थियो।
२०४८ सालमा राष्ट्रियसभा सदस्यमा मनोनित भएका उपाध्याय २०५६ मा सम्पन्न उपनिर्वाचनमा मोरङ–१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएक थिए। त्यसपछि शिक्षा तथा खेलकुदमन्त्री बनेका थिए।
उनी २०६२÷०६३ को जनआन्दोलनपछि पुनस्र्थापित व्यवस्थापिका संसदका सदस्य समेत थिए । २०६४ को संविधानसभा सदस्य निर्वाचनमा पनि मोरङ–१ बाट निर्वाचित भएका थिए।












