एनआरएनएको १२औं महाधिवेशन फागुन ११, १२ र १३ मा
संघको स्टेरिङ कमिटीको आइतबार सम्पन्न बैठकले महाधिवेशनको टुंगो लगाएको हो। महाधिवेशन काठमाडौँमा हुने छ।
काठमाडौं, मंसिर २९ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फागुन ११, १२ र १३ गतेका लागि तय भएको छ।
संघको स्टेरिङ कमिटीको आइतबार सम्पन्न बैठकले महाधिवेशनको टुंगो लगाएको हो। महाधिवेशन काठमाडौँमा हुने छ।
संघका महासचिवद्वय गौरीराज जोशी र बीआर लामाले एक विज्ञप्ति जारी गर्दै स्टेरिङ कमिटीले महाधिवेशनको तयारीलाई तीव्रता दिँदै मिति घोषणा जनाएका छन्। साथै सांगठनिक एकता र आन्तरिक व्यवस्थापनका लागि विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ।
राष्ट्रिय समन्वय समिति (एनसीसी) हरू बिचको एकतालाई निष्कर्षमा पु¥याउन बैठकले गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसीसी एकता समिती’ गठन गरेको छ। उक्त समितिको सह–संयोजकमा टीका गुरुङ (राधिका) रहेकी छन् भने सदस्यहरूमा शनिकुमार ओली, नारायण काफ्ले र चिरञ्जीवी खड्का रहेका छन्।
संघले बृहत् एकताको सन्देश विश्वभरका नेपालीमाझ पु¥याउन क्षेत्रीय स्तरमा अन्तरक्रिया तथा संवाद कार्यक्रमहरूको तालिका पनि सार्वजनिक गरेको छ।
यस्तै, बैठकले सदस्यता सम्बन्धी समितिलाई ५ बाट बढाएर ७ सदस्यीय बनाउने निर्णय लिएको छ। अनुशासनलाई कडाइका साथ पालना गराउन स्टेरिङ कमिटीका सम्पूर्ण सदस्यहरूले आगामी बैठक अगावै प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।
निर्णयअनुसार तोकिएको समयभित्र हस्ताक्षर नगर्ने सदस्यलाई आगामी बैठकमा सहभागी गराइने छैन।












