Kathmandu Press

देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले राजनीति पेशा, व्यवसाय होइन यो त समाजसेवाको उत्कृष्ट माध्यम हो भन्ने भाव सबैमा जागृत हुन जरुरी रहेको बताए। ‘नेपाली जनताले यतिबेला हामीसँंग गरेको मुख्य अपेक्षा नै यही हो भन्ने पनि हामी नभुलौं’ राष्ट्रपतिले भने। 
देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं, मंसिर २९ : राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आव्हान गरेका छन्। 

राष्ट्रपति पौडेलले ३१औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि नविन सोच, शैली र योजना एवम् त्यसलाई पुरा गर्न दृढ अठोट, उर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेकोमा जोड दिए।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित होऔँ, इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पन्ने दायित्व हाम्रो काँधमा छ,’ उनले भने, ‘यो दायित्व पूरा गर्नबाट हामी चुक्न हुँदैन भन्ने म ठान्दछु, त्यसका लागि नविन सोच, शैली र योजना तथा त्यसलाई पुरा गर्न दृढ अठोट, उर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ।’

Hardik ivf

राष्ट्रपति पौडेलले राजनीति पेशा, व्यवसाय होइन यो त समाजसेवाको उत्कृष्ट माध्यम हो भन्ने भाव सबैमा जागृत हुन जरुरी रहेको बताए। ‘नेपाली जनताले यतिबेला हामीसँंग गरेको मुख्य अपेक्षा नै यही हो भन्ने पनि हामी नभुलौं’ राष्ट्रपतिले भने। 

युवा पुस्ताको आन्दोलनमा प्रकट भएको चाहना पनि यही रहेको उनको भनाई थियो। मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि भएकाले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पारेर अघि बढ्न राष्ट्रपति पौडेलले अपिल गरे।

‘मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि हो, त्यही भएर युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मुर्तरुप दिन आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ, यसलाई सफल पारेर अघि बढौँ र सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी बनौं भन्ने अपिल पनि म यस अवसरमा गर्दछु,’ उनले भने।

काठमाडौँ महानगरपालिकाले सम्पादन गरेका काम, प्रवाह गरेको सेवा र विस्तार गरेको सम्बन्धबाट स्थानीय सरकारका रुपमा आफ्नो जिम्मेवारीबोधलाई उजागर गरेको तथा आर्थिक, सामाजिक, भौतिक विकास र सहरी व्यवस्थापनमा देखाएको नविनपना र सक्रियता प्रशंसनीय रहेको उनको भनाई थियो।

उनले सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली, हरियाली प्रवर्धनसहित प्राकृतिक सम्पदा, मठमन्दिर, तलाउ, पोखरी, ढुङ्गेधारा, भौतिक सम्पदाको अस्तित्व पुनःस्थापना, एकीकृत सहरी विकासको प्रयास महानगरपालिकाका उदाहरणीय काम भएको बताए।

राष्ट्रपति पौडेलले विद्युतीय शासनमा सूचना सञ्चार तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग, एकीकृत प्रणालीबाट पारदर्शी एवं उत्तरदायी सेवाका लागि एकल सेवा केन्द्र सञ्चालन, गुनासो व्यवस्थापन प्रणालीलाई प्राथमिकता दिनुले महानगरपालिकालाई नागरिकमैत्री, उत्तरदायी, पारदर्शी र सेवाग्राहीमैत्री बनाएको बताए।

काठमाडौँ, नेपालको राजनीतिक परिवर्तन तथा शासकीय व्यवस्था रुपान्तरणको अनुभूति गर्ने सहर पनि भएकाले यो महानगरले अख्तियार गर्ने नीति, योजना, काम र कार्यक्रम मात्र होइन यसका भोगाइ तथा सिकाइ अन्य पालिकाका लागि उदाहरणीय हुने धारणा उनले व्यक्त गरे।

प्रकाशित मिति: १२:०८ बजे, सोमबार, मंसिर २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्