दुर्गा प्रसाईंको महाअभियानसँग वार्ता गर्न मन्त्री खरेल नेतृत्वमा समिति गठन
समितिमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना सदस्य रहेका छन्।
काठमाडौं, मंसिर २८ : दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालसँग वार्ता गर्न सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको नेतृत्वमा समिति गठन गरेको छ।
सरकारले खरेलको नेतृत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरेको हो। समितिमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना सदस्य रहेका छन्।
प्रधानमन्त्रीको स्वकीय सचिवालयले वार्ता समिति गठन गरिएको विषयमा प्रसाईंलाई पनि पत्रमार्फत जनाउ दिएको छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा हस्ताक्षरित पत्र पठाइएको हो। उक्त पत्रमा महाअभियानका तर्फबाट पनि वार्ताका लागि तीन जना प्रतिनिधि पठाउन अनुरोध गरिएको छ।
दुर्गा प्रसाईंसँग मंसिर २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको थियो। त्यतिबेला प्रसाईंले राखेका विभिन्न मागबारे छलफल गर्न पुस २ गते अर्को बैठक बस्ने सहमति बनेको थियो।
सोही अनुसार मन्त्री खरेलको नेतृत्वमा सरकारले वार्ता समिति गठन गरेको हो । उक्त समितिले प्रसाईंका प्रतिनिधिसँग मागबारे छलफल गर्ने छ।












