Kathmandu Press

पार्टीभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु बन्न तयार छु : डा.कोइराला

आफूले कोभिड महामारीकै समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि कोइरालाले गरे।
पार्टीभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु बन्न तयार छु : डा.कोइराला

काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन्।

कोइरालाले लामो समयदेखि पार्टीभित्र र बाहिरका फोरमहरुमा युवापुस्तालाई राज्यको मुल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा उठाउँदै आएपनि त्यसको सुनुवाइ नभएकाले पछिल्लो परिस्थिति निर्माण भएको बताए।

आफूले कोभिड महामारीकै समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि कोइरालाले गरे।

शनिबार प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुसँग बिशालनगरस्थित कोइरालाकै सम्पर्क कार्यलयमा भएको भेटघाटमा नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरुले पुर्याउनु भएको योगदानको सधै उच्च कदर हुने बताए।

देश र पार्टी अत्यन्तै कठिन मोडमा उभिएको बताउँदै उनले कांग्रेस पार्टी पुनर्निर्माणका लागि अझै सेनानीहरुको अनुभवको सहयोगको खाँचो रहेको पनि उनले प्रष्ट पारे।

‘सयौं योद्धा र युवाहरुको रगत पसिनाले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक बिचलन आएको छ,’ कोइरालाले भने, ‘पार्टी भित्र मुल्य, मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरुरी छ।’

जिल्ला जिल्लाबाट आएका सेनानीहरुलाई पार्टीको आसन्न महाधिवेसन र आम निर्वाचनमा होमिन कोइरालाले निर्देशन दिए।

प्रकाशित मिति: १४:३८ बजे, शनिबार, मंसिर २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्