Kathmandu Press

नेतामुखी होइन, कार्यकर्तामुखी नेतृत्व चयन आवश्यक छ : पाण्डे

‘कार्यकर्ताको बीचमा स्थापित मान्छे होइन, नेताको वरिपरी लाग्ने मान्छे मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटी हुर्कायौँ। हामी यसको विपक्षमा छौँ।’
नेतामुखी होइन, कार्यकर्तामुखी नेतृत्व चयन आवश्यक छ : पाण्डे

काठमाडौं, मंसिर २६ : नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्र लोकतान्त्रिक नेतृत्व विकासको आवश्यकतामा जोड दिएका छन्। 

नेकपा एमालेको ११औँ महाधिवेशनको सन्दर्भमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै उनले पार्टीमा कार्यकर्तामुखी नेतृत्व चयन प्रक्रियालाई संस्थागत गर्नुपर्ने धारणा राखे।

कार्यकर्ताको ठाउँमा नेतामुखी संस्कृतिले जरो गाडिरहेको उल्लेख गर्दै पाण्डेले भने, ‘कार्यकर्ताको बीचमा स्थापित मान्छे होइन, नेताको वरिपरी लाग्ने मान्छे मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटी हुर्कायौँ। हामी यसको विपक्षमा छौँ।’

उनले कार्यकर्ताले आफ्नै फिल्डका नेता पहिचान गरी मूल्यांकनका आधारमा नेतृत्व चयन गर्ने पद्धति विकास गर्नुपर्नेमा जोड दिए। 

पाण्डेका अनुसार यस्तो परिपाटी स्थापित हुँदै गयो भने पार्टीलाई कसैले कमजोर बनाउन नसक्ने र महाधिवेशनको यही ‘लडाइँ’मा एमाले सफल हुने विश्वास उनले व्यक्त गरे।

उनले पार्टीभित्र नेतृत्व दोहोरो नदोहोरिने प्रावधान अनिवार्य गर्नुपर्ने माग पनि दोहोर्याए।

‘हामी यो पार्टीलाई लोकतान्त्रिक बाटोबाट हिँडाउन चाहन्छौं। यसको लागि दुई पटकभन्दा बढी एउटै व्यक्ति जिम्मेवारीमा नरहने व्यवस्था विधानमै गर्नुपर्छ । यसको लडाइँ हामी गरिरहेका छौँ,’ पाण्डेले भने।

प्रकाशित मिति: १५:०१ बजे, शुक्रबार, मंसिर २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्