‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’
‘भदौ २३ र २४ गते जनआन्दोलन भयो । यसलाई सरकार र जेनजीबीच सहमती गरेर जेनजी जनआन्दोलनको मान्यता राष्ट्रले दिइसकेको छ,’ उनले भने।
काठमाडौं, मंसिर २६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको रुपमा राष्ट्रले मान्यता दिएको बताएका छन्।
शुक्रबार ललितपुरमा आयोजित सामाजिक जवाफदेहिता ः मिडिया र युवा संवाद कार्यक्रममा बोल्दै उनले भदौ २३ र २४ गते भएको क्रान्तिलाई सरकार र जेनजीबीचको सहमति अनुसार राष्ट्रले औपचारिक रूपमा जनआन्दोलनको मान्यता दिइसकेको बताए।
‘भदौ २३ र २४ गते जनआन्दोलन भयो । यसलाई सरकार र जेनजीबीच सहमती गरेर जेनजी जनआन्दोलनको मान्यता राष्ट्रले दिइसकेको छ,’ उनले भने।
उनले जेनजी पुस्ताले सुरु गरेको आन्दोलनले दिएको सन्देश अत्यन्तै स्पष्ट रहेको बताए। उनले भने, ‘जेनजी आन्दोलन जसरी सुरुवात भयो त्यसले जे सन्देश दियो अब युवाहरुको बारेमा धेरै भन्नुपर्छ जस्तो मलाई लाग्दैन।’
मन्त्री खरेलले आन्दोलनले जेनजी पुस्ता शक्तिशाली, सचेत र आवश्यक परेको खण्डमा परिवर्तनका लागि बलिदान दिन पनि तयार रहेको स्पष्ट प्रमाणित गरिदिएको बताए। ‘जेनजी यति सशक्त छ, सचेत छ र परिवर्तनका खातिर जेनजीहरु बलिदान दिन पनि तयार हुन्छन् भन्ने पुष्टि गरे,’ उनले भने।
उनले युवाहरूको मुद्दाले प्राथमिकता पाएको भन्दै अब देश परिवर्तनको मार्गमा युवा नेतृत्वलाई सुनिश्चित गर्दै सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्। मुलुकलाई रुपान्तरण गर्न युवाको भूमिकालाई विशेष महत्व दिइनुपर्ने र वर्तमान सरकार पनि युवामैत्री कदमका साथ अगाडि बढिरहेको उनले बताए।
‘अहिलेको सरकार तपाईंहरूको साथमै छ,’ उनले भने, ‘अब युवा नेतृत्वलाई अग्रपंक्तिमा ल्याउँदै परिवर्तनको यात्रामा सबैले हातेमालो गर्न आवश्यक छ।’












