विषाक्त राजनीतिको चक्रव्यूहबाट मानवअधिकारलाई अलग्याऔं : प्रधानन्यायाधीश
राउतले गत भदौ २४ गतेको आन्दोलनको क्रममा अदालत, बार एसोसिएसन सबै जलाइएको प्रसङ्ग उल्लेख गर्दै आन्दोलनमा नेपाली जनताको इतिहास र सम्पत्ति दुवै जलेको पनि बताए।
जनकपुर, मंसिर २४ : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले विषाक्त राजनीतिको चक्रव्यूह र चंगुलबाट मानवअधिकारलाई अलग्याउनुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा नेपाल बारएशोसिएसनद्वारा जनकपुरमा आयोजित कार्यक्रममा राउतले यस्तो भनाई राखेका हुन्। राउतले गत भदौ २४ गतेको आन्दोलनको क्रममा अदालत, बार एसोसिएसन सबै जलाइएको प्रसङ्ग उल्लेख गर्दै आन्दोलनमा नेपाली जनताको इतिहास र सम्पत्ति दुवै जलेको पनि बताए।
उनले मानव अधिकारको विषय पछिल्लो समयमा अत्यन्त जटिल, पेचिलो तथा संवेदनशील बन्दै गइरहेको भनाई समेत राखे। मानवअधिकारमा राजनिति प्रवेश हुँदा वातावरण विशाक्त हुने बताउँदै आ–आफ्नो विचारको चश्माबाट मानवअधिकारलाई हेर्न नहुने भनाई राउतको छ।
यसरी आ–आफ्नो विचारबाट मानवअधिकारलाई हेर्न थालिएमा यसको विश्वव्यापी सार्वभौमिकता, यसको मान्यता, महत्व र यसको ओजमा असर पुग्ने भनाई राउतको छ।
‘त्यसैले निजी विचार, व्यक्तिको आस्था भन्दा माथि उठेर मानवअधिकारलाई हेर्न खोजियो भने मात्र मानवअधिकारको सम्मान, संरक्षण र संवद्धन हुन सक्छ,’ प्रधानन्यायाधीश राउतले भने, ‘विषाक्त राजनीतिको चक्रव्यूह र चंगुलबाट मानवअधिकारलाई तपाईंहरुले अलग्याउनुपर्छ।’
मानवअधिकार न्यायसँग जोडिएको विषय भएकाले पनि बढी संवेदनशील हुने प्रधानन्यायाधीश राउतको भनाई थियो।
नेपाल बारको आयोजनामा जनकपुरमा दुई दिवसीय राष्ट्रिय मानव अधिकार गोष्ठी आयोजना गरिएको हो। उक्त राष्ट्रिय गोष्ठीमा देशभरका कानुन व्यवसायीहरूको उपस्थिति छ। दुई दिनसम्म चल्ने गोष्ठीले जनकपुरधाम घोषणापत्र जारी गर्ने छ।












