अन्तिमपटक डडेल्धुराबाट चुनाव लड्ने कांग्रेस सभापति देउवाको संकेत
डडेल्धुराका जनताले सम्मानजनक बिदाई खोजेको बताउँदै अन्तिमपल्ट चुनाव लड्न देउवालाई आग्रह गरिएको थियो। जवाफमा देउवलाले भनेका थिए, ‘यदी जनताको इच्छा भए अन्तिमपटक डडेल्धुराबाट चुनाव लड्छु।’
काठमाडौं, मंसिर २३ : जेनजी आन्दोलनपछि झण्डै दुई महिनासम्म राजनीतिक भेटघाट स्थगन गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । जेनजी आन्दोलनकाक्रममा घुसैपैठिया समूहबाट सांघातिक आक्रमणमा परेका देउवा यतिबेला महाराजगञ्जमा बसाईं सरेका छन्।
यतिबेला महाराजगञ्जस्थित देउवा निवासमा देउवालाई भेट्न जानेको भिड लाग्ने गरेको छ। मंगलबार पनि डडेल्धुराका पार्टी सभापति भीमबहादुर साउद, देउवाको गृहपालिका गन्यापधुराका अध्यक्ष इन्द्रबहादुर कार्की, उपाध्यक्ष ज्ञानु सेठी देउवा, परशुराम नगरपालिका मेयर भरत बडायर जोशीलगायतका नेताहरू देउवालाई भेट्न निवास पुगेका थिए। भेटमा सहभागी एक नेताका अनुसार डडेल्धुराका जनताको इच्छाअनुसार प्रतिनिधिसभा निर्वाचनमा लड्नका लागि देउवालाई अनुरोध गरेका थिए।
डडेल्धुराका जनताले सम्मानजनक बिदाई खोजेको बताउँदै अन्तिमपल्ट चुनाव लड्न देउवालाई आग्रह गरिएको थियो। जवाफमा देउवलाले भनेका थिए, ‘यदी जनताको इच्छा भए अन्तिमपटक डडेल्धुराबाट चुनाव लड्छु।’
डडेल्धुरा जिल्ला सभापति साउद, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष कार्की र उपाध्यक्ष सेठीले देउवालाई २१ फागुनको चुनाव लड्न आग्रह गरेका थिए । डडेल्धुराबासीले देउवाको माथिको आक्रमणलाई मतदाता एवम् जनतामाथिको आक्रमणका रुपमा हेरेको भनाई पनि उनीहरुले भेटमा राखेका थिए।
भेटमा सहभागि ति नेताले जनाए अनुसार चुनावका लागि देउवाको नाम जिल्लाबाट एकल रुपमा सिफारिस गर्ने तयारी समेत भइरहेको छ। पछिल्लो समय डडेल्धुराका विभिन्न वर्ग र समुदायसँग भेटघाट बाक्लो बनाएका छन्।
कांग्रेस सभापति देउवा डडेल्धुराबाट २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ गरी सातपटक विजयी भइसकेका छन् । २०४८ सालयता देउवाले लगातार निर्वाचन जित्दै आएका छन्। २०४८ सालमा पहिलो निर्वाचन जितेपछि गृहमन्त्री भएका देउवा पाँचपटक प्रधानमन्त्री बनिसकेका छन्।
२३ र २४ भदौको जेन–जी आन्दोलनमा गंभिर घाइते भएका देउवा लामो समय उपचारपछि सन्चो हुने क्रममा छन् । देउवाले कार्यवाहक सभापति उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् । तीनपल्ट सभापति उठ्न कांग्रेस विधानले दिँदैन । तर डडेल्धुराका मतदाताको आग्रह अनुसार देउवा अन्तिम पल्ट चुनावमा भिड्ने संभावना भने बाँकी नै छ।
देउवा २०५२ मा एक वर्ष ५ महिना २९ दिन, २०५८ मा एक वर्ष २ महिना ९ दिन, २०६१ सालमा ८ महिना २ दिन, २०७४ मा ८ महिना १२ दिन र २०७८ मा १ वर्ष ६ महिना १५ दिन प्रधानमन्त्री बनेका थिए। पाँचपटकको अवधिमा देउवा जम्मा ५ वर्ष ७ महिना सात दिन मात्र मुलुकको प्रधानमन्त्री भएका थिए।
यसरी समयको हिसाव लगाउँदा देउवा पाँचपटक गरी देउवा जम्मा एक पूरा कार्यकाल जति प्रधानमन्त्री भएका छन् । जिल्लाको विकास र लोकप्रियताका कारण डडेल्धुरावासीले देउवाको विकल्पमा मत फेर्न नखोजेको अपराजित यात्राले पनि बताउँछ।












