भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न पनि सरकार तयार छ : प्रधानमन्त्री कार्की
‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन,’
काठमाडौं, मंसिर २३ : प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार भएको बताएकी छिन्।
भ्रष्टाचारविरुद्धको २२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिंहदरबारमा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन्।
‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन्।’
उनले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताइन्। ‘यो सरकार चुनावी सरकार मात्र होइन। सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको छ,’ उनले भनिन्।
प्रधानमन्त्री कार्कीले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गर्दा धम्की आए पनि नडराउने बताइन्। उनले राष्ट्र सेवकहरुलाई पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न आग्रह गरिन्।












